निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले कनेक्ट किसान नामक गैरसरकारी संस्थाले आयोजना गरेको ‘कृषि एक्स्पो गढीमाई–२०८१’ को आइतवार अवलोकन गर्नुभएको छ ।नगरप्रमुख पुरीले एक्स्पोमा प्रदर्शनीमा राखिएका कृषि उपज र उपकरणहरुको निरीक्षण गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख पुरीलाई कृषि एक्स्पोकी संयोजक सञ्जिता लामिछानेले प्रदर्शनीमा राखिएका विभिन्न स्टलहरुको अवलोकन गराउनुभएको थियो ।अवलोकन क्रममा नगरप्रमुख पुरीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादित फापर र कोदोको पिठो, सिमी र सिमीको दाल, अकबरे खुर्सानी, ललितपुरको मौरीको मह लगायतका खाद्यान्न खाद्यान्न खरिद गर्नुभएको थियो ।

कनेक्ट किसानले एक्स्पोमा कर्णालीसहित देशका सबै प्रदेशका किसानले उत्पादन गरेको खाद्यान्न बिक्रीको लागि राखेको छ । मेलामा कर्णाली प्रदेशमा उत्पादित कागुनो, जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, रारा र मुगुको चिनो, स्थानीय बोडी, सिमी, दाल जस्ता खाद्यान्न र गुल्मीको मालिका गाउँपालिकको गुन्द्रुक र सिन्की, नुवाकोट जिल्लाको बेलकोट गाउँपालिकाको अरेविक कफी, सर्लाही नवलपुरको मौरीको मह, सिन्धुलीको जुनार र रौतहटको ड्राइगनफ्रुट, झापा र कपिलबस्तुको कालानमक अवलोकनकर्ताहरुको राजाइमा छन ।

हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा यस पटक कृषि एक्स्पो विशेष आकर्षणको रुपमा रहेको छ । एक्स्पोमा कृषि औजारप्रति पनि किसानको आकर्षण पाइएको छ । निर्माण कम्पनीहरुले मेलामा आफ्नो उत्पादनमा ५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन । किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले मंसिर १८ देखि एक्स्पो सञ्चालन भएको हो ।

त्यसैगरी नगर प्रमुख पुरीले मेला परिसरमा निजगढ नगरपालिकाले संचालन गरेको सहायता कक्षको पनि निरीक्षण गर्नुभएको थियो । उहाँले सहायता कक्षमा विश्राम लिएर बसेका तीर्थालुहरुसंग भेटेर सेवा सुविधाको अवस्था बारेमा पनि जानकारी लिनुभएको थियो । गढीमाई मेला व्यवस्थापन मुल समितिको आग्रहमा निजगढ नगरपालिकाले औषधोपचार र रात्री अवाससहितको सहायता कक्ष संचालन गर्दैआएको छ । सहायता कक्षबाट सोमवार साँझसम्म १२ सय जनाभन्दा बढीले औषधोपचार र ५ हजारभन्दा बढी तीर्थालुले रात्री र दिवा आवास सेवा लिएको कक्षका सम्पर्कव्यक्ति निजगढ नगरपालिकाका सबइन्जिनियर नविन खनालले जानकारी दिनुभयो ।

Leave a Reply