काठमाण्डौं,नेपाल विद्युत् प्राधिकरणले पर्सी परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ ।
पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरेको बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताउनुभयो ।
‘अहिले पनि हाम्रो आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी छ,’ घिसिङले भन्नुभयो,’ त्यसैकारण जति विद्युतको माग आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौं ।’ उहाँले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गर्नुभयो । सो दिनमा प्रायः उद्योगहरु बन्द भएकाले घरायसी र व्यापारिक माग मात्रै हुन्छ । यही कारण प्रणालीमा सो दिनमा पनि ‘पिक डिमान्ड’ले रेकर्ड नराख्ने प्राधिकरणको प्रक्षेपण छ ।
घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गर्नुभयो ।
त्यसअनुसार २०७५ वैशाखदेखि उद्योगहरुबाट समेत लोडसेडिङ हटेको थियो । घिसिङले भारतमा चर्किएको ऊर्जा संकटका कारण हिउँदयाममा समस्या पर्ने भन्ने बजारको हल्लामा पनि सत्यता नभएको पनि बताउनुभयो ।