कलैया,बारा क्षेत्र नम्बर २ का ८२ मतदान स्थलमध्ये ६५ मतदान स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ ।जिल्ला सुरक्षा समितिले भुगोल, पूर्वाधार, मतदातालगायतको अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलको वर्गीकरण गरेको हो । मतदान स्थललाई वर्गीकरण गर्दै सुरक्षा समितिले सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने रणनीति बनाएको छ ।उपनिर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गिकरणका आधारमा सुरक्षा व्यवस्था परिचलान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभएको छ । उपनिर्वाचनलाई लक्षित गरेर बिहिवार रातीदेखि भारतसंग जोडिएको सिमा नाका पूर्णरुपमा बन्द गरिएको छ ।भारतीय पक्षसंग सहकार्य गरेर सिमा नाका बन्द गरिएको र उक्त क्षेत्रमा सुरक्षाकर्मीको सक्रियता बढाएको प्रजिअ सापकोटाले बताउनुभयो । बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जसमध्ये नेपाल प्रहरीका करिब एक हजार सात सय, सशस्त्र प्रहरीका करिब ६ सय र नेपाली सेनाका करिब तीन सय सुरक्षाकर्मी परिचालित हुनेछन् ।बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले निर्वाचन क्षेत्र प्रवेश गर्ने नाका, मतदान स्थललगायत सबै ठाँउमा प्रहरी परिचालित भईसकेको र मतदानको दिन अति संवेदनशिल स्थलमा १२ जना र सामान्य मतदान स्थलमा आठ जनाका दरले प्रहरी परिचालन हुनेछन् ।यसैगरी निर्वाचन क्षेत्रमा तीन जना प्रहरी नायब उपरीक्षक र १३ जना प्रहरी निरीक्षकको कमाण्डमा नियमित गस्ती हुने र एउटा स्थानीय तहमा प्रहरीका तीन वटा गाडीले गस्ती गर्ने बोगटीले जानकारी दिनुभयो । मतपेटिकाको सुरक्षाको लागि विशेष निर्देशन दिएको बताउदै बोगटीले मतपेटिका असुरक्षित हुने गतिविधि भएमा बुथमा खटिएका प्रहरीलाई गोली चलाउन समेत अधिकार दिइएको बताउनुभयो । बोगटीले निर्वाचन क्षेत्र प्रवेश गर्ने सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र मतदानको दिन अन्य क्षेत्रका पैदल यात्रु समेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिने बताउननुभयो ।नेपाल प्रहरीपछि दोस्रो घेराको कमाण्ड सशस्त्र प्रहरीले सम्हाल्नेछ । सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगीले करिब ६ सय सशस्त्र परिचालित हुने बताए । सिमा क्षेत्रमा खटिएका प्रहरीलाई त्यसै क्षेत्रमा खटाइएको र जिल्ला भित्र रहेका अन्य जनशक्तिलाई मतदानस्थल र निर्वाचन क्षेत्रमा परिचालन गरिएको डांगीले जानकारी दिनुभयो ।

Leave a Reply