निजगढ,पर्सा राष्ट्रिय निकुञ्जले निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा आइतवार एक दिने वन डढेलो नियन्त्रण सम्बन्धी तालिम आयोजना गरेको छ ।रतनपुर सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका सामुदायिक वनका पदाधिकारिहरुलाई तालिम दिइएको हो ।
राष्ट्रिय निकुञ्ज कार्यालय आदाभार बारा र रतनपुर रेन्जर पोष्टको आयोजनामा भएको सो तालिममा निकुञ्ज कार्यालय रतनपुर रेन्जर पोष्ट रेन्जर लक्ष्मणकुमार महतोले वनमा आगालागी हुने कारण बारे तयार पारिएको स्लाईडमार्फत सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।तालिममा वन डढेलो रोकथाम र न्यूनीकरण गर्ने उपाय, वन डढेलोको असर, वन व्यवस्थापन र प्रज्वलनशील पर्दाथको व्यवस्थापन बारे सहभागीहरुलाई जानकारी गराइएको थियो । तालिममा सब डिभिजन वन कार्यालय रतनपुरका प्रमुख निरज साहले पनि डढेलोको जोखिम बढी स्थानको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सामुदायिक वनमा डढेलो लाग्न नदिनका लागि समूहका उपभोक्ताहरुलाई जनचेतना जगाउने, चोरी सिकारी नियन्त्रण गर्ने र वन क्षेत्रमा अग्नि रेखा निर्माण जस्ता काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तालिम निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहैइया गुरोको प्रमुख अतिथ्यतामा भएको थियो । वडा अध्यक्ष गुरोले ब्यानर पढेर कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगरका उपाध्यक्ष धनबहादुर खुलालले सुख्खायाममा लाग्ने वन डेढेलोलाई नियन्त्रण गर्न र वन डढेलो लाग्दा हुने क्षति र न्यूनीकरणका विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभएको छ ।निजगढ नगरपालिका वडा नम्बर ११ का वडा कार्यालयको सभा हलमा भएको सो तालिममा रतनपुर क्षेत्रका १० वटा वन उपभोक्ता समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


















