निजगढ,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १६ टाँगियाबस्तीमा स्थानीय र प्रहरीबीच मंगलवार झडप भएको छ ।घरमा भरुवा बन्दुक र वन्यजन्तुको अंग भेला परेपछि प्रहरीले नियन्त्रणमा लिएका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा स्थानीयले बाटो छेकेर अवरोध गरेपछि दुबै पक्षबीच दोहोरो भिडन्त भएको हो ।करिब तीन सयको सङख्यामा आएका स्थानीयले प्रहरी टोलीमाथि ढुङगामुढा गरी हतियारसहित पक्राउ परेका लामालाई प्रहरीको भ्यानबाट खोसेर लगेका छन ।भिडन्तमा प्रहरीतर्फ प्रहरी बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी सामान्य घाईते भएका छन् । शाहीको बाँया हातमा चोट लागेको छ भने गिरीको बाँया कुम र बाँया हातमा चोट लागेको छ ।वडा सदस्यको रोहबरमा घटनास्थलको मुचुल्का गरेर लामालाई निजगढ प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा बाटो छेकेर बसेका युवा र महिलाहरुको समुहले प्रहरीमाथि एक्कासी ढुङ्गामुडा गरेको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो ।स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गर्नुपरेको निरीक्षक श्रेष्ठको भनाइ छ ।लामाले घरमा ठुला हतियार राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा १५ जनाको टोलीले लामाको घरमा छापामारी गरेको थियो । सो क्रममा लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको जस्तो देखिने २ वटा दारा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद गरेको निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हतकडीसहित फरार बनेका लामा वन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको रे घरमा ठूला हतियारसमेत राख्ने गरेको सूचनाको आधारमा घरमा छापामारी गरिएको बताउनुभयो । फरार लामाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply