जनकपुरधाम, भदौ ९ गते । मधेश प्रदेश सरकारले प्रदेशभित्र सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई २६ थान सवारीसाधन हस्तान्तरण गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयमार्फत गरिएको यो पहलले प्रदेशमा शान्ति–सुरक्षाको वातावरण मजबुत हुने विश्वास गरिएको छ ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपाल प्रहरी मधेश प्रदेश कार्यालय प्रमुख एवम् डिआइजी उमाप्रसाद चतुर्वेदीलाई २१ थान मोटरसाइकल र एक थान पिकअप भ्यानको साँचो तथा कागजात हस्तान्तरण गर्नुभयो । साथै, राष्ट्रिय अनुसन्धान विभागका धनुषा, महोत्तरी, रौतहट र सप्तरीका कार्यालय प्रमुखलाई दुई थान कार र दुई थान पिकअप भ्यान प्रदान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले यद्यपि प्रदेशको आफ्नै प्रहरी संगठन नभए पनि प्रदेश सरकारले नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्ने दृढता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “स्रोत–साधन सीमित भए पनि प्रदेश सरकार नागरिकको हितमा निरन्तर काम गरिरहेको छ । यो सहयोगले प्रहरी र अनुसन्धानलाई अपराध नियन्त्रण र सेवा प्रवाहमा सहजता ल्याउनेछ।”

मन्त्री लेखीले आगामी दिनमा पनि सुरक्षा निकायलाई अझ सशक्त बनाउन बजेट बिनियोजन भइरहेको जानकारी दिनुभयो । उहाँले सबै तह, सबै क्षेत्रले आफ्नो जिम्मेवारी निर्वाह गर्न सके मात्रै सभ्य र सुरक्षित समाज निर्माण हुनेमा जोड दिनुभयो ।

Leave a Reply