धिरेन्द्र तिवारी

कलैया,बाराको बिश्रामपुरमा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ ।बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दम्पतीलाई पक्राउ गरी शनिवार सार्जजनिक गरेको हो ।वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रौशनी देवीलाई प्रहरीले पक्राउ गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजानगरका २२ वर्षीय महेश साहको हत्या गरी भारतको विभिन्न क्षेत्रमा लुक्दै आएका उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।प्रहरी उपरीक्षक बोगटीका अनुसार उनीहरूले महेशको हत्या गरी इटियाहीस्थित भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा शव लुकाएर फरार भएका थिए । डिस ‘केवल’ को तारले घाँटी कसेर महेशको हत्या गरेको र अपराध लुकाउन परालको भुसमा शव लुकाएर उनीहरू फरार भएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।मृतक महेश र कैलाशकी पत्नी रौशनीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार महेश र रौशनी लामो समयदेखि ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहदै आएका थिए । घटनाको दिन महेश र रौशनीबीच इटियाहीमा भेट्दै गर्दा पति कैलाश आएको र सोही समयमा विवाद भएपछि पतीपत्नी मिलेर हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।घटनापछि रौशनी र कैलाश भारतको बिहार, दिल्ली, केरलामा लुकेर बसेका थिए । भारत प्रहरीसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply