कलैया,बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार एमालेका पुरुषोत्तम पौडेललाई स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले समर्थन गर्नुभएको छ ।नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै आम मदतातालाई सूर्य चिन्हमा मतदान गर्न विज्ञप्ति जारी गर्दै अपिल गर्नुभएको हो ।उहाँले आफनो उम्मेदवारी निष्क्रिय रहने बताउनुभएको छ । तेलीले विज्ञप्ति जारी गर्दै सुशासन र विकासको प्रतिफल जनतामा पु¥याउन सक्ने नेता पौडेल मात्र भएको बताउनुभएको छ ।स्वतन्त्र उम्मेदवार तेलीले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘एमालेका पुरुषोत्तम पौडेल बाराका जनतामा चिरपरिचित तथा जिल्लाका पुराना र जनमुखी नेता हुन । बारामा भएका विकासको पहलकर्ता समेत रहेका पुरुषोत्तमलाई बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउन आम मतदातासंग अपिल गर्दछु ।’उहाँले भन्नुभएको छ, ‘बारा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएर खटिरहँदा धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर २ लाई पौडेलको जित नै आवश्यक रहेको भन्ने निष्कर्ष निकालें ।’उहाँले पुरुषोत्तमले अघि सारेको चुनावी नारा आफूलाई मन परेको बताउनुभयो । बाराका ४ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो पुरुषोत्तमकै कारण भएको र अब यस क्षेत्रमा समेत विकास गर्नका निम्ति पुरुषोत्तमको आवश्यकता भएको उहाँले निष्कर्ष सुनाउनुभयो ।



















