निजगढ,पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध बिहीवार मुद्दा दर्ता गराएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुट दिने निर्णय कानून विपरीत भएको भन्दै अख्तियारले छानबिन शुरु गरेको थियो । मुद्दा दर्ता भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।
२०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारका बेला भूमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले पतञ्जलीको कम्पनीलाई हदबन्दीभन्दा बढीको जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो ।
पतञ्जलीले २०६६ सालमा उद्योग, जडिबुटी संवद्र्धन, योगशाला, अस्पतालसहितका संरचना निर्माण गर्नका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । पतञ्जलीले किनेको पाँच सय ५४ रोपनी पाँच आना एक पैसा जग्गा भूमि सम्बन्धी ऐन, २०२१ अनुसार हदभन्दा बढी रहेको अख्तियारले जनाएको छ । तर पतञ्जलीले सरकारी सार्वजनिक कायम हुने तीन सय १४ रोपनी १५ आना दुई पैसा एक दाम जग्गा बिक्री गरेको अख्तियारको जिकिर छ । अख्तियारले पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख पाँच हजार रुपैयाँ बिगो असुल गर्न दाबी गरेको छ ।अख्तियारले पूर्व प्रधानमन्त्री नेपालसहित तत्कालीन कानून तथा न्याय मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्वर्गीय डम्बर श्रेष्ठ र उनको छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लालमणी जोशीसहित मन्त्रालयका अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै मालपोत कार्यालय, काभ्रेका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसारसहित मालपोत र गुठी कार्यालयका अधिकारीहरू, तत्कालीन सनराईज बैंकका नायब महाप्रबन्धक बलराम विष्टसहितका कर्मचारी, पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल र कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालिग्राम सिंह र जग्गा खरिद गर्ने आठ जना व्यक्तिहरू विरुद्ध पनि मुद्दा दायर भएको छ ।
‘पूर्वाग्रह राखेर मुद्दा लगाइयो’
सिमरा,पूर्वप्रधानमन्त्री एवंम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको घटनाले स्तब्ध भएको बताउनुभएको छ ।सिमराबाट काठमाडौं फर्कने क्रममा सिमरा विमानस्थलमा संचारकर्मीसंग छोटो प्रतिक्रिया दिँदै नेता नेपालले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताउनुभएको हो ।‘म स्तब्ध भएको छर, मैले कल्पना पनि गरेको थिइन’ नेता नेपालले भन्नुभयो ‘मैले कुनै पनि अनुचित रकम लिएको छैन । भष्ट्राचारजन्य काम पनि गरेको छैन ।’
नेता नेपालले आफूले कुनै मन्त्रीलाई त्यस्तो काम गर्न निर्देशन पनि नदिएको दाबी गर्नुभएको छ । उक्त मुद्धामा आफूलाई जोड्न खोज्नु पूर्वाग्रहबाहेक अरु केही नभएको नेता नेपालको भनाई थियो ।उहाँ बिहीवार बिहान काठमाडौंबाट सिमरा हुँदै रौतहट गएर फेरि काठमाण्डौं फर्किनुभएको थियो ।रौतहट पुगेको केही समयमै नेता नेपालविरुद्ध मुद्दा दायर भएको खबर बाहिर आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।


















