काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कुराकानी भएको छ । दुबै पक्षका नेताहरु रहको कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो । नेता सुरेन्द्र पाण्डेका अनुसार कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे ब्रिफिङ गरेको थियो । र दुई नेताबीच वान अन वान सम्वाद भएको थियो । भेटवार्तामा दुबै नेताहरुबीच कुनै सहमति नभएको बताइएको छ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल भएको हो । उहाँहरूबीच गएको जेठ २ गते सहमति भई १० सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलको बुधबार सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीवार फेरि बैठकपछि एउटा निर्णयमा पुग्ने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मक रूपमा छलफल भएको र चाँडै निष्कर्षमा पुगिने छ ।

दलका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रूपमा सहमतिमा परिणत गर्न तीन दिनअघि कार्यदलको बैठक फेरि सुरु भएको हो । अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराइ २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो । गएको जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ताले कार्यदल बनाएको थियो तर माधव नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षका हस्ताक्षर गरेपछि कार्यदल निष्क्रिय बनेको थियो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको छ । माधव नेपाल पक्षले निःसर्त रूपमा पार्टीलाई २०७५ सालको जेठ २ गतेअघि कै संरचना र सङ्गठनमा लैजानुपर्ने र सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर अदालतकै आदेशअनुसार नै हुने अडान लिएको छ । दुई पटक प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै ओलीले आत्मालोचना गर्नुपर्ने पनि नेपाल पक्षको माग छ । तर प्रधानमन्त्री ओलीले भने आफ्नो निर्णय मान्दै पार्टीमा फर्कन निर्देशन दिँदै आउनुभएको छ । विवाद मिलाउन गठन भएको दश सदस्यीय कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here