वीरगन्ज, १६ कात्तिक । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकाको भवनमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण सम्पूर्ण कार्यालय सामग्री नष्ट भएपछि महानगरको प्रशासनिक कामकाज ठप्पजस्तै भएको थियो। तर पछिल्ला दिनमा विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना तथा सामाजिक संगठनहरूबाट प्राप्त सहयोगले अब कार्यालय पुनःसञ्चालनमा सहजता आएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार एन.पी.एल. सामाज कल्याण संस्थाले वीरगन्ज महानगरलाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप उपलब्ध गराएको छ। वीरगन्ज महानगरपालिकामा आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले सहयोग सामग्री हस्तान्तरण गर्दै नगरवासीका लागि सेवा प्रवाह सहज बनाउन योगदान दिन पाउँदा खुशी लागेको बताए।

त्यसैदिन ब्रिटानिया नेपाल प्रा।लि।ले पनि महानगरलाई २० थान कुर्सी सहयोग गरेको छ। यसअघि सूर्य नेपाल प्रा।लि।ले ल्यापटप, कम्प्युटर र प्रिन्टर प्रदान गरिसकेको थियो भने औषधि उत्पादक संघ, वीरगन्ज इकाईले समेत कम्प्युटर र अन्य विद्युुतीय सामग्री सहयोग स्वरूप उपलब्ध गराएको थियो।

महानगरका मेयर राजेशमान सिंहका अनुसार, यस्ता सहयोगहरूले कार्यालय सञ्चालन मात्र सहज बनाएको छैन, कर्मचारीहरूको मनोबल पनि उच्च बनाएको छ। उनले भने, “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन समयमा सहयोगका हात अघि बढाउनु सबैका लागि हौसला दिने काम हो। यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ।”

मेयर सिंहले प्राप्त सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कामकाजमा प्रयोग गरिने जानकारी दिए। साथै, उनले आगामी दिनमा अन्य आवश्यक उपकरण र सामग्रीका लागि निजी क्षेत्र र दातृ निकायहरूसँग सहकार्य गर्ने योजना रहेको पनि बताए।

Leave a Reply