कलैया,जिल्ला प्रशासन कार्यालयले निर्वाचन सुरक्षाका लागि आइतवार बाराको मुख्य राजमार्गबाहेक अन्य सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ । कार्यालयले बैशाख १० गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म अनुमति प्राप्त बाहेक अन्य सवारी संचालनमा रोक लगाउने भएको हो ।कार्यालयले शनिवार विज्ञप्ति जारी गर्दै पूर्वपश्चिम राजमार्गको धन्सार–पथलैया र त्रिभुवन राजपथको पथलैया–वीरगन्ज सडकखण्डबाहेक अन्य सडकमा सवारी आवागमन बन्द गर्ने जनाएको हो । यसैगरी रौतहटबाट बारा प्रवेश गर्ने अन्य सडक नाका समेत बन्द हुने विज्ञप्तिमा जनाइएको छ ।बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मुख्य राजमार्ग बन्द नहुने तर उक्त राजमार्गबाट भित्री सडकमा प्रवेश गर्न भने नपाईने जानकारी दिनुभयो । प्रजिअ सापकोटाले पर्सा र रौतहटको जिल्ला प्रशासन कार्यालयसंग समेत समन्वय गरिएको बताउनुभयो ।
सुरक्षा समितिको शुक्रवार साँझ बसेको बैठकले निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सवारी आवागमनमा कडाइ गरेको हो । यसअघि निर्वाचन हुने क्षेत्र नं. २ भित्र मात्रै सवारी आवागमनमा रोक लगाउने निर्णय भएको थियो ।


















