कलैया,नेकपा माओवादी केन्द्रले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ । स्थानीय एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाएर निर्घात कुटपिट गरेको घटनामा संलग्न रहेकोभन्दै माओवादी पार्टीले कुशवाहालाई निलम्बन गरेको हो ।
कुशवाहा माओवादीको जिल्ला कमिटी पूर्वसदस्य हुन् भने माओवादी केन्द्रबाट २०७९ सालमा निर्वाचित वडा अध्यक्षमा निर्वाचित बनेका थिए । कुशवाहासहित आठ जनाले पर्सा बहुदरमाई घर भई प्रसौनी गाउँपालिका वडा नम्बर ६ बेलहीया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेको आरोप छ । मदिरा सेवन गरी यादवलाई अर्धनग्न बनाएर वडा कार्यालयभित्रै कुटपिट गरेको भिडियो समेत माओवादीले फेला पारेको छ ।
अराजक गतिविधि र पार्टी अनुशासन उलंघन गरेको भन्दै माओवादी केन्द्रका मधेस इन्चार्ज मातृका यादवले कुशवाहालाई निलम्बन गर्नुभएको हो । कुशवाहाको पार्टी सदस्यता खारेज गर्न र जिम्मेवारीबाट हटाउन माओवादीको प्रसौनी गाउँ कमिटीले भदौ ५ गते र बारा जिल्ला समन्वय कमिटीले भदौ ७गते प्रदेश कमिटीलाई पत्र लेखेको थियो ।
माओवादीको जिल्ला कमिटी बारा इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गर्नुभएको थियो । श्रेष्ठले वडा अध्यक्ष कुशवाहाले शिक्षक यादवलाई कुटपिट गरेको भिडियो समेत प्रदेश कमिटीलाई उपलब्ध गराउनुभएको थियो ।
कुशवाहाको सदस्यता खारेज गर्न र सम्पूर्ण जिम्मेवारीबाट हटाउन पत्राचार गरेपनि प्रदेश कमिटीले भने ६ महिनाका लागि मात्रै पार्टी सदस्यबाट निलम्बन गरेको हो ।यता पीडित शिक्षक यादवले दिएको जाहेरीका आधारमा बारा प्रहरीले वडा अध्यक्ष कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले कुशवाहालाई अमानवीय व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिनुभएको छ । कुशवाहा प्रहरी हिरासतमा छन् ।
कुशवाहा यसअघि पनि चेक अनादर, कुटपिटसहित विभिन्न मुद्दामा संलग्न थिए । बारा जिल्ला अदालतको फैसला आदेश कार्यान्वयन गराउने क्रममा प्रहरीले जेठ ११ गते कुशवाहालाई पक्राउ गरी अदालतमा पेश गरेको थियो ।


















