सिमरा,खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सिमराको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा समर्थित कासिम हुसेन पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनमा हुसेन चौथो पटक अध्यक्षमा विजयी हुनुभएको हो ।

यसअघि १२ वर्षसम्म खानेपानीको नेतृत्व सम्हालेका हुसेनलाई उपभोक्ताले एक हजार तीन सय ३३ मत दिएर निर्वाचित गरेका छन् । हुसेनले उक्त मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी राजकुमार भट्टराईले एक हजार एक सय १९ मत पाउनु भएको छ ।

स्थानीय दलहरुले राजनीतिक प्रतिष्ठाको विषय बनाएको निर्वाचनमा भट्टराई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको दलीय समर्थनमा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो भने हुसेनलाई नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । गठबन्धनलाई निरन्तरता दिदै कांग्रेस, माओवादी र समाजवादी एकतावद्ध भएर खानेपानीको निर्वाचनमा एमालेविरुद्ध एकजुट भएर होमिएका थिए ।

उपाध्यक्षमा भने भट्टराई नेतृत्वका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना जित हात पार्नुभएको छ । तिमिल्सिनाले एक हजार एक सय ८९ मत प्राप्त गर्दा उपाध्यक्षका अर्का प्रत्याशी शशीकुमार गौतमले एक हजार एक सय ६३ मत प्राप्त गर्नुभएको छ । तिमिल्सिनाबाहेक अन्य सबै पदमा हुसेन नेतृत्वको उम्मेदवार विजयी भएका छन् ।

कार्यसमितिको सचिवमा जय किशोर राउतले जित हात पार्दा राजेन्द्र सुवेदी पराजित हुनुभयो । राउतले एक हजार दुई सय २९ गत प्राप्त गरे भने सुवेदीले एक हजार एक सय ३४ मत ल्याउनु भएको छ । सचिव पदमा राउत ९५ मतको मतान्तरले विजयी हुनु भएको हो ।

सहसचिव र कोषाध्यक्षमा एक सय पाँचको फराकिलो मतले सानुवाबु कुर्मी र लोकराज पौडेल निर्वाचित हुनु भयो । सहसचिवमा कुर्मीले एक हजार दुई २४ मत प्राप्त गर्दा सहसचिवमा अर्का उम्मेदवार रुद्रनाथ शर्माले एक हजार एक सय १९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कोषाध्यक्षमा पौडेलले एक हजार दुई २८ मत ल्याउदा अर्का उम्मेदवार दिलुमाया श्रेष्ठले एक हजार एक सय २३ मत ल्याउनुभएको छ ।

हुसेन नेतृत्वको प्यानलका प्रकाशबहादुर क्षेत्री अत्यधिक मत ल्याउदै सदस्यमा निर्वाचित हुनुभयो । क्षेत्रीले एक हजार दुई सय ७७ मत ल्याउनुभयो । यसैगरी अन्य सदस्यमा राजकुमार बर्तौला र निर्मला केसीले एक हजार दुई सय ४४ मत प्राप्त गर्नुभयो । सदस्य पदमै तोयानाथ लुईटेलले एक हजार दुई सय, मुमनाथ शर्माले एक हजार एक सय ८६ र शुभद्रा कुमारीले एक हजार एक सय ७४ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उपभोक्ता परिचयपत्र नविकरण गराएका तीन हजार दुई सय २७ उपभोक्तामध्ये दुई हजार पाँच सय ३२ ले नेतृत्व चयनका लागि मतदान गरेका थिए । मतदान गरिएकोमध्ये केही मतपत्र बदर भएको थियो ।

निर्वाचन कमिटीले करिब २४ घण्टासम्म चलेको मतगणनाको अन्तिम मतपरिणाम सुनाएपछि एमाले र जनमोर्चाका नेताकार्यकर्ताले विजय जुलुस निकाल्दै खुशीयाली मनाएका थिए । चार पटकसम्म लगातार निर्वाचित हुसेनले आफूमाथि उपभोक्ताले गरेको विश्वासलाई सम्मान गर्दै खानेपानीको विकासका लागि सधैजसो प्रतिबद्ध भएर काम गर्ने प्रतिक्रिया दिनुभयो ।

Leave a Reply