सिकिन्द्र साह (सिम्रौनगढ),दिपेन्द्र जयसवाल (गन्जभवानीपुर),दुई दिने गृह जिल्ला भ्रमणमा बारा आइपुग्नुभएका संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई सिम्रौनगढ नगरपालिका र करैयामाई गाउँपालिकामा सोमवार स्वागत तथा सम्मान गरिएको छ ।सिम्रौनगढ नगरपालिकाको कार्यालय भवनमा नगर प्रमुख किशोरीप्रसाद कलवारले उपराष्टपति यादवलाई खादा र माला ओढाएर स्वागत तथा सम्मान गर्नुभएको हो ।कार्यक्रममा बोल्दै उपराष्ट्रपतिले आफू जहा पुगेपनि सिम्रौनगढलाई कहिल्यै बिर्सन नसक्ने बताउनुभयो । ‘म यही गाउँमा जन्मे, हुर्के, गाउँकै विद्यालयबाट शिक्षा प्राप्त गरेको छु, उहाँले भन्नुभयो, मैले सिम्रौनगढबाट धेरै माया र सम्मान पनि पाएको छु र यो ठाउँलाई कहिल्यै बिर्सन सक्दिन ।’ उहाँले सिम्रौनगढको विकासको लागि जहिले पनि तत्पर रहने बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेसका मुख्य मन्त्री सरोजकुमार यादवले सिम्रौनगढको इतिहासमा पहिलो पटक उपराष्ट्रपति र मुख्यमन्त्री जस्तो गरिमामय पद प्राप्त भएको बताउदै यो जनताको पनि उपलब्धि भएको बताउनुभयो ।उहाँले आफूले बिगत लामो समयदेखि सिम्रौनगढमा छोटी भन्सार कार्यालय र क वर्गको भन्सार कार्यालय स्थापना गर्न अर्थ मन्त्रलायको ध्यानाकर्षण गरेको पनि बताउनुभयो । ‘सिम्रौनगढमा ठुलो भान्सार स्थापना गर्न पहल गरे पनि कुनै सुनवाइ भएको छैन, उहाँले भन्नुभयो, अब फरि सबै मिलेर भन्सार कार्यालय लगायतका पूर्वाधारहरुको स्थापना गरेरै छाडनुपर्छ ।’ उहाँले सिम्रौनगढलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफू लागि परेको पनि बताउनुभयो ।उहाँले राज्य संयन्त्रको माथिल्लो निकायमा बस्ने शासकहरुको गलत दृष्टिकोणले गर्दा सिम्रौनगढको विकास हुन नसकेको पनि बताउनुभयो ।कार्यक्रमा उद्योग बाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहा, वडा अध्यक्ष रामएकवाल यादव, दिनेशप्रसाद यादव, सुरेन्द्रप्रसाद जयसवाल, बिबेक मेहता, नन्दकिशोर जयसवाल, व्यवसायीहरु कुन्दन कुशवाहा, जसपा जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।त्यसैगरी उपराष्ट्रपति यादवलाई बाराको करैयामाई गाउँपालिकामा पनि सोमवार स्वगत गरिएको छ ।गाउँपालिकाको वडा नम्बर २ मा रहेको राजदेवी मन्दिर दर्शनमा पुग्नुभएको उपराष्ट्रपति यादवलाई मन्दिर परिशरमा गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादवले स्वगत गर्नुभएको हो ।करैयामाई गाउँपालिकाको आयोजनामा भएको स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव, प्रदेश सभा सदस्य शारदाशंकर साह कलवार, गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, मदेश प्रदेस सरकारकी अर्थ पूर्व राज्यमन्त्री उषा यादव, पूर्वगाउँपालिका अध्यक्ष भुनेश्वर धामी, मन्जारुल अन्सारी, नारायण यादव, करैयामाई गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य दिपक पासवान, सुरेन्द्र साह, पालिकाका कर्मचारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी र विभिन्न राजनितिक दलका कार्यकर्ताहरुले उपराष्ट्रपति यादवलाई राजदेवी मन्दिरको प्रवेश द्वारदेखि करैयामाई मन्दिरसम्म फूलमालाले स्वागत गरेका थिए ।राजदेवी मन्दिरमा पूजापछि आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आफूलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गरेर उपराष्ट्रपति बनाउन सहयोग गर्नुहुने क्षेत्रका मतदाताहरुलाई धन्यवाद दिर्नुभयो । उहाँले आफूलाई यो स्थानसम्म पुर्याउने कार्यमा करैयामाइ गाउँपालिकाबासीहरुको थप बढी भूमिका रहेको बताउनुभयो ।‘एउटा समान्य किसानको छोरालाई एक पटक समानुपातिक र दुई÷दुई पटकसम्म प्रत्यक्ष चुनावमा निर्वाचित गराउनुभयो, उपराष्ट्रपति यादवले भन्नुभयो, यसको निम्ति म तपाईहरुप्रति कृतज्ञ छु ।’उहाँले करैयामाई गाउँपालिका शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछाडि परेकोले सम्बन्धित निकायलाई यसमा जोड दिन निर्देशन पनि दिनुभयो । ‘जबसम्म व्यक्ति शिक्षित हुँदैन तबसम्म उसको जीवनको गुणस्तरमा वृद्धि हुदैन, उहाँले भन्नुभयो, त्यसैले सबैले आफ्ना बालबालिकालाई विद्यालयमा पठाएर शिक्षित तुल्याउनुपर्छ ।’कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य सुरेन्द्र साहले गर्नुभएको थियो भने सञ्चालन वडा अध्यक्ष सोनालाल साहले गर्नुभएको थियो ।


















