नरेश गुप्ता
बरियारपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर २ बिसुनपुर्वामा आगलागीबाट ९ वटा घरगोठ जलेर ९ लाख मूल्य बराबरको क्षति भएको छ ।
मङ्गलवार राति भएको आगलागीबाट स्थानीय उर्मिला चौधरी, सुरेश दास, लक्ष्मण दास, लिलावती थरुनी, जयप्रकाश चौधरी, प्रेमलाल चौधरी, कान्त चौधरी, कान्चानन्द दास र शंकर प्रसाद जयसवालको खरले छाएको घर र गोठ जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार आगलागीबाट घरगोठसँगै लत्ताकपडा, खाद्यान्न, फर्निचर र काठपात जलेर अन्दाजी ९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
राति १२ बजे लागेको आगो बिहान करिब पौने २ बजेतिर स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको थापाको भनाइ छ ।
त्यसैगरी जिल्लाकै आदर्श कोतबाल गाउँपालिका वडा नम्बर ४ इर्नावामालका अताबुल खान पैठानको घरअगाडि राखेको अन्दाजी १ बिघा क्षेत्रको धानको परालमा आगलागी भएको छ । आगलागीबाट ३०÷३५ हजार रुपैयाँ बराबरको क्षति भएको डिएसपी थापाले बताउनुभयो । प्रहरी, स्थानीय र दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।