पुष्पराज खतिवडा
बारा – गत मंगलबारबाट बदलिएको मौसम र लगातारको शितलहरले तराईको जनजीवन कष्टकर बन्दै गैरहेको छ । बाक्लो कुहिरो र शितलहरका कारण मानिसहरु चहलपहल ह्वाततै घटेको छ । सडकमा गुड्ने गाडी हेडलाईट बालेर गुडिरहेका छन् । निरन्तरको चिसो हावा र शितलहरबाट बालबच्चा, वृद्धवृद्धा र दैनिक मजदुरीमा खटिनेहरुसँगै सर्वसाधारण समस्यमा परेकाछन् ।
अत्यावश्यक काम बाहेक वाहिर ननिस्कन र निस्कनै परे न्यानो कपडा लगाएर निस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । ताजा, तातो र झोलिलो खानेकुरा खानुकासाथै आगो ताप्नु अनी न्यानो ठाउँमा बस्नु पर्ने तराई सिमरा अस्पतालमा कार्यरत डा. रविन्द्र सिंहले बताए । कुनै समस्या भए तत्काल चिकित्सकको सम्पर्कमा आउनु उनको सुझाव छ ।
जिल्लाको सिमरा, कलैया, कोल्हवी, प्रसौनी, हरैया, सिम्रौनगढ लगायत जिल्लासँगै तराईको जनजिवन प्रभावित भएको छ । आज पनि विहानैबाट शितलहर र बाक्लो कुहिरो लागीरहेको छ । सिमरा विमान स्थलका अनुसार बाराको तापक्रम १३ डिग्री सेलसियस मापन गरिएको छ । एक्कासी बदलिएको मौसमले व्यापार व्यवसाय मात्रमा नभई यसले कृषकहरुलाई समेत समस्या भएको किसानहरुले बताएका छन् । खेतबारीमा काम गर्न, पशुचौपायाको स्याहार गर्न शितलहरका कारण समस्या भैरहेको कोल्हवी नगरपालिका–८,बधुवनकी मिठु खड्काले सुनाईन् ।
चिसो बढेपछी बाराका बिभिन्न स्थानिय तहहरुले न्यानो अभियान सुरु गरेका छन् । चौक चौराहमा आगो बालिदिने, विपन्न , गरिव परिवारमा न्याना कपडा वितरण गर्ने कार्यहरु भैरहेका छन् । चिसोले पठनपाठमा समेत प्रभाव परेको छ । चिसो बढेसँगै कोल्हवी नगरपालिकाले तीनदिनका विद्यालयहरु बन्द गरेको जनाएको छ । चिसोबाट बचाउन दलित बिपन्न बस्ती , चोकचौराह दाउराको धुनी बाल्ने ब्यवस्था गरिएको कोलहबी नगरपालिकाले जनाएको छ । विपन्न, असहायका लागि न्यानो कपडा वितरण गर्ने तयारीमा रहेको मेयर भरत भण्डारीले जानकारी दिए ।
त्यसैगरी आफ्ना नागरिकलाई चिसोबाट बचाउन निजगढ नगरपालिकाले बिभिन्न स्थानमा धुनी लगाउन दाउराका चट्टा बितरण गरिरहेको छ । नगरपालिकाको बिपद ब्यवस्थापन समितीको बैठक बसेर बिपन्न र बृद्धबृद्धाहरुलाई कम्बल र थर्मस बितरण गर्ने निर्णय गरिएको मेयर सुरेश कुमार खनालले जानकारी दिए । त्यस्तै परवानीपुर, प्रसौनी गाउँपालिकाले पनि शनिबरदेखी दाउरा बाँड्ने जनाएका छन् ।
कलैया उपमहानगर, फेटा गाउँपालिका, महागढीमाई नगरपालिका लगायतले पनि पहिलो चरणमा दाउरा बितरण सुरु गरिएको जनाएका छन् । चिसोबाट प्रभाबितहरुका लागि दाउरा बितरण गर्ने योजना मुताविक पर्याप्त दाउरा उपलब्ध हुन नसकेको जीतपुरसिमरा उपमहानगरपालिका मेयर डा.कृष्ण पौडेलले बताएका छन् । जील्लाका सबै पालिकाहरुले आगो ताप्ने ब्यवस्था मिलाउनुका साथै विपन्न गरिब र असायहरुका लागि न्यानो कपडा वितरण गरिरहेका छन् । हाल सम्म कुनै प्रकारको मानविय क्षती नभएको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।