कलैया,आगामी वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले संविधानसभाका पूर्वसदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बारा निर्वाचन क्षेत्र नं २ मा रिक्त प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि यादवको एकल नाम सिफारिस गरेको हो । गत मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त बनेको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।यसअघिे आइतबार बसेको नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय कार्यसमितिले यादवको एकल नाममा सर्वसम्मत रूपमा निर्णय गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो । क्षेत्रको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले सोमवार निर्णय गरेर यादवको नाम मधेस प्रदेश कार्यसमितिलाई पठाइएको छ ।जिल्ला सभापति राजेश राय यादवद्वारा हस्ताक्षर गरिएको सो निर्णय पत्रको बोधार्थ नेपाली कांग्रेसका केन्द्रीय सभापति र केन्द्रीय कार्यालयमा समेत पठाइएको छ । राधेचन्द्र यादव २०५१ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ४ कार्यकाल बारा जिल्ला सभापति समेत हुन् ।सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि चुनाव लडने तयारी गर्नुभएको छ ।

Leave a Reply