वीरगन्ज,मुलुककै ठूलो चेन सुपर स्टोर सञ्चालन गरिरहेको भाटभटेनीको २४औं स्टोर वीरगन्जमा स्थापना भएको छ । मुलुकका विभिन्न शहरमा स्टोर निर्माण गरी बजार बिस्तार गर्दै आएको भाटभटेनीको विरगन्ज शाखा बिहीवार औपचापरिक सुभारम्भ गरिएको हो ।नेपालमा अन्तर्राष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले बताउनुभयो । २ अर्ब ५० करोड बढीको लागतमा स्थापना गरिएको स्टोर सञ्चालनमा आएसँगै स्थानीय २५० बढीले प्रत्येक्ष रोजगारी पाउने उहाँले बताउनुभयो । भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उहाँले दाबी गर्नुभयो । ‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन । स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।’ उहाँले भन्नुभयो ।वीरगन्ज महानगर– १४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण भएको हो । स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्किङसहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिलेसम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले ठूलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताउनुभयो ।स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौनाका सामन, लत्ताकपडा, जुत्ता, टिभी, फ्रीज, वासिङमेसिन वल्र्ड क्लास ब्राण्डेड कपडा लगायत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजार मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाइ छ । फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तर्राष्ट्रिय स्तरको सपिङगर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उहाँले बताउनुभयो । ‘स्टोरको संचालनबाट यँहाका स्थानीयहरुले मात्र नभई छिमेकी मुलुक भारतको सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने विश्वास लिएका छौं ।’ उहाँले भन्नुभयो ।स्टोरमा अन्तर्राष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, बालबालिकाहरुको लागि खेल्नका लागि किड्स जोन, लगायतका सुविधाहरु पनि रहने उहाँले जानकारी दिनुभयो । व्यवस्थापक भट्टराइले स्टोरको सुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशतसम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको पनि जानकारी गराउनुभयो ।मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने बजार विस्तारलाई थप आक्रमक बनाएको छ । उद्योगी तथा व्यवसायीहरु आर्थिक रुपले थला परिरहेको समयमा भाटभटेनीले नयाँ शैलीमा आफ्नो बजार विस्तारलाई अघि बढाएको हो । मुलुकको आर्थिक संकटलाई टार्नका लागि सबै उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बजार विस्तारलाई नरोकेको उल्लेख गर्नुभयो ।अन्य उद्योगी व्यवसायीहरु जस्तै आफू पनि आर्थिक संकटको मारमा परेको उल्लेख गर्दै उहाँले रोजगार सिर्जना र आर्थिक चलायमानलाई कायम राख्नका लागि रोकिन नमिल्ने बताउनुभयो । ‘अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ, गुरुङले भने, ‘यो संकटको बेलामा हामी अघि सरेनौँ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले, गाह्रोसाह्रो भए पनि हामीले स्टोर विस्तारको काम रोकेका छैनौँ ।’कोरोना महामारीको समयमा समेत नरोकिएको भाटभटेनीले त्यसपछि हालसम्म पाँच ठाउँमा नयाँ स्टोर सञ्चालनमा ल्याइसकेको छ । इटहरी, धनगढी, हेटौंडा, काठमाडौंको टोखा, र ललितपुरको सानागाउँ सञ्चालनमा आएका नयाँ स्टोर हुन । मुलुकमा आर्थिक समस्या परेको बेलामा चुपचाप बस्न नमिल्ने बताउँदै प्रबन्ध निर्देशक गुरुङले आर्थिक क्रियाकलापलाई गति दिएर मात्र यो संकटबाट मुक्ति पाउन सकिने उल्लेख गर्नुभयो ।‘आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन । जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ ।’ उहाँले भन्नुभयो, ‘संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा खुसी लागेको छ ।’भाटभटेनीले अहिलेसम्म ६ हजार पाँच सयलाई रोजगारी प्रदान गरिहेको छ । २०८० भित्रै मधेस प्रदेशको राजधानी जनकपुर र झापाको विर्तामोड तथा दमकमा थप स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीका सि.ई.ओ. पानु पौडेलले बताउनुभयो । भाटभटेनीले तराई क्षेत्रका सहरहरुमामा सुपर स्टोर संचालनमा ल्यायपछि जाँदा छिमेकी मुलुक भारतका सिमावर्ति शहरका उपभोक्ताहरु पनि सामान किन्न र सहज शपिङको अनुभव गर्न नेपाल आउने क्रम समेत बढेको छ ।

Leave a Reply