सिमरा,चार दिनअघि भैरहवाबाट सिमरा आइपुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगञ्जमा नागरिक अभिनन्दन गरिने भएको छ ।माघ १३ गते वीरगञ्जस्थित लाल बंगलामा हुने कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गरिने भएको हो ।
पुस २३ गते परिवारसहित सिमरा आउनुभएका पूर्वराजा यतिबेला प्रभु निवासमा बसिरहनुभएको छ । सिमरा आएको चार दिनपछि पूर्वराजाको मधेस भ्रमणको कार्यक्रम सार्वजनिक गरिएको हो ।भ्रमण कार्यक्रम अनुसार नागरिक अभिनन्दनअघि पूर्वराजाले बारा, रौतहट र सर्लाही जिल्लाका मन्दिरमा पुगेर पूजा अर्चना गर्नुहुनेछ । पूर्वराजाको भ्रमणका लागि गठन गरिएको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका अनुसार पुस २८ गते पूर्वराजा सर्लाही बरथहवास्थित मुक्तेश्वर मन्दिर पुग्नुहुनेछ ।यसैगरी पूर्वराजाले माघ २ गते रौतहट शिवनगरस्थित शिवमन्दिर र माघ ४ गते बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका महासचिव हिराबहादर चन्दले जानकारी दिनुभएको छ । चन्दका अनुसार पूर्वराजा शाहको माघ १५ गतेसम्मको कार्यतालिका बनिसकेको छ ।नागरिक अभिनन्दन र पूजा अर्चनाको औपचारिक कार्यक्रमसंगै पूर्वराजाले सिमरामा अनौपचारिक भेटघाट जारी राख्नुहुनेछ । यसबाहेक पूर्वराजाले हेटौंडामा हुने कार्यक्रममा समेत सहभागिता जनाउने शंभावना रहेको चन्दले बताउनुभयो । महासचिव चन्दले हेटौंडाको विषयमा छलफल चलेको भएपनि टुंगो भने नलागेको बताउनुभएको छ ।

Leave a Reply