निजगढ,बारा जिल्ला दुग्ध उत्पादक संघ लिमिटेडले नगरपालिकामा दुग्ध संकलन र रकम निकासामा देखिएको समस्या समाधानको माग गर्दै जिल्लाको विभिन्न स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको छ ।संघका पदाधिकारीहरुले दुध संकलन र रकम भुक्तानीमा देखिएको समस्या समाधानको माग राखेर जिल्लाको निजगढ, कोल्हबी नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिकामा बिहीवार छुट्टाछुट्टै रुपमा ज्ञापन पत्र बुझाएका हुन ।
निजगढ नगरपालिकामा ज्ञापन पत्र बुझाउदै बारा जिल्ला दुग्घ उत्पादक संघ लिमिटेडका सचिव पुरुषोत्तम भट्टराईले नगरपालिकाले छिटोभन्दा छिटो दुग्धमा देखिएको समस्यामा चासो दिनको निम्ति ज्ञापन पत्र दिइएको बताउनुभएको छ ।
यता किसानले लामो समयदेखि दुध बिक्रीको रकम भुक्तानी नपाएको समस्यामा पनि नगरपालिकाले आगामी दिनमा सम्बन्धित निकायमा दुग्ध उत्पादक संघसँगै पहल र समन्वय गर्ने निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बताउनुभएको छ । उहाँले विद्यालयलाई दिने दिवा खाजामा पनि दुग्धको परिकारमा वृद्धि गर्ने हिसाबले कार्यपालिका र विद्यालयका प्रधानाध्यापकहरुसँग समन्वय गर्ने पनि बताउनुभएको छ ।



















