निजगढ,जिल्ला प्रशासन कार्यालय बाराले निजगढ नगरपालिका वडा नम्बर ९ मा व्यक्तिको नाममा दर्ता गरिएको भनिएको चाइनिज क्रसरको सार्वजनिक जग्गा भोगचलमा रोक लगाएको जनाएको छ ।सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर भोगचल सुरु गरेको भन्ने उजुरीपछि प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्राले जिल्ला मालपोत कार्यालयमार्फत जग्गाको दर्ताको अवस्था छानबिन भइरहेको र जग्गाको वास्तिविक हैसियत पत्ता नलागुन्जेलसम्म भोगचलमा रोक लगाउन जिल्ला प्रहरी कार्यालयमार्फत निर्देशन दिनुभएको हो ।
‘दुषित दर्ता गरिएकोभन्दै दर्ता खारेजीको माग गर्दै स्थानीयको उजुरी परेको थियो, प्रजिअ मिश्राले भन्नुभयो, मालपोतबाट छानबिन रिपोर्ट नआउन्जेल भोगचलमा रोक लगाउन भनिएको छ ।’ उहाँले मालपोत कार्यालयबाट हुने अनुसन्धानपछि मात्रै जग्गाको वास्तविक अवस्था पत्ता लाग्ने र सोही अनुसार कारबाही हुने पनि बताउनुभयो । प्रजिअ मिश्राले जग्गाधनी दाबी गर्ने पक्षलाई पनि आवश्यक प्रमाण पेस गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
वर्षौदेखि सार्वजनिक रुपमा रहेको कित्ता नम्बर ४३३ को १२ कठ्ठा ५ धुर जमिन सुकुमवासी समस्या समाधान आयोग बाराले ०६७ सालमा निजगढ ८ की मनमायाँ श्रेष्ठको नाममा दर्ता गरेपछि दुषित दर्ताभन्दै स्थानीयले खारेजीको माग राखेर जिल्ला प्रशासन कार्यालय बारा, निजगढ नगरपालिका र मालपोत कार्यालय सिमरामा निवेदन दिएका थिए ।
दुषित दर्ता गरेर भोगचल गर्ने प्रयास भएपछि आफूहरुले खारेजीको लागि सरकारी निकायमा करिव डेढ सय जनाभन्दा बढीको हस्ताक्षरसहित निवेदन दिएको स्थानीय शर्मिला लामाले जानकारी दिनुभयो ।परापूर्व कालदेखि गौचरणको रुपमा रहेको र महेन्द्र राजमार्ग विस्तारको क्रममा ०५० सालसम्म पनि चाइनीज हेनान कम्पनीले क्रसर उद्योग संचालन गरेको सो जमिनमा सुकुम्बासी आयोगले व्यक्तिको नाममा दुषित दर्ता गरेको र हाल केही व्यक्तिहरुले आफूलाई जग्गाधनीभन्दै भोगचल प्रयास गरेपछि आफूहरुले दर्ता खारेजीको माग गरेको बताउनुभयो ।
साविक १०८ नम्बर कित्ताको २ बिगाहा १७ कठ्ठा ३ धुर क्षेत्रफलको सो जमिनबाट सुकुम्बासी आयोगमार्फत विभिन्न व्यक्तिहरुले कित्ताकाट गरी धनीपूर्जा लिएको र बाँकी रहेको जमिन पनि निजगढ गाविसका तत्कालिन जनप्रतिनिधि र मालपोत कार्यालयका कर्मचारीहरुलाई समेत प्रलोभनमा पारेर मनमायाँले आफ्नो दर्ता गरेको निवेदनमा उल्लेख छ ।२०२१ सालको नापीको फिल्ड बुकको धनी महलमा ‘बलुवा’ भनेर उल्लेख भएको साविक १०८ नम्बर कित्तामा पर्ने सो जमिनमा मनमायाँको परिवारले हाल आवादी थालेको हो ।उता, जग्गाधनी मनमायाँकी छोरी सिता डिसीले आफूहरुले सुकुमवासी आयोगबाट सबै प्रक्रिया पुरा गरेर धनी पूर्जा लिएको र यसमा कसैले पनि विवाद गर्नु उचित नहुने बताउनुभएको छ ।

















