निजगढ, निजगढ नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्व १ करोड ९४ लाख ७९ हजार ८ सय रुपैंयाको बजेट सहितको नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा १३ करोड बढी बजेट ल्याएको हो । नगर प्रमुख सुरेश कुमार खनालको अध्यक्षतामा बिहिबार आयोजित आठौ नगरसभा अधिवेशनमा उपप्रमुख लिलादेवी लामिछानेले निति, कार्यक्रम तथा आगामी वर्षको आयव्याय बजेट पेश गर्नुभएको थियो ।

नगरपालिकाले पूर्वाधार विकासका लागि ३७ करोड ४४ लाख ७२ हजार, सामाजिक विकासका लागि २९ करोड ५१ लाख ५३ हजार ८ सय, आर्थिक विकासमा १४ करोड ७५ लाख ८० हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १४ करोड ७२ लाख ५० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रकोलागि ५ करोड ५० लाख २४ हजार रकम विनियोजन गरेको छ ।

नगरपालिकाको आर्थिक विकास तथा गरीबी निवारण, उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत साधन र सीपको अधिकतम उपयोग हुने, लैंगिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि गर्ने तथा कोरोना नियन्त्रण र उपचारमा योगदान पुर्याउने खालका योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

त्यसैगरी बजेटले नगरपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुको सुदृढीकरण गरी गुणस्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा प्रदान, औधोगिक क्षेत्रको विकास, भौतिक पूर्वाधारको विकास तथा कृषि यान्त्रीकीकरणको व्यापक प्रयोग गर्दै व्यवसायिक कृषि खेतीमा जोड दिएको छ । नगरका पर्यटकीय एवंम धार्मिक क्षेत्रको प्रवद्र्धन गर्दै नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, जनतालाई स्वच्छ खानेपानी प्रदान गर्दै १० हजार लिटरसम्म खानेपानी उपयोग गरेबापतको न्युनतम शुल्कमा छुट दिने, नगरको राष्ट्रिय राजमार्ग क्षेत्रमा थप सिसिटिभी जडान गरी अपराधिक घटनाको न्यूनीकरण गर्दै नगरलाई सुरक्षित बनाइने नीति तथा कार्यक्रम उपप्रमुख लिलादेवी लामिछाने प्रस्तुत गर्नुभएको हो । त्यसैगरी कलैया उपमहानगरपालिकाको सातौ नगर सभा समपन , आ ब ०७८÷०७९ मा १ अर्ब ५९ करोड ९३ लाख ५९ हजार २ सय ९२ रुपैयाको नीति तथा कार्यक्रम सार्वजनिक

बरियारपुर, कलैया उपमहानगरपालिकाको सांतौ नगरसभा बिहिवार सम्पन्न भएको छ । उपमहानगरपालिकाले आ ब ०७८ ÷ ०७९ मा १ अर्ब ५९ करोड ९३ लाख ५९ हजार ९२ रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको हो । नगर प्रमुख राजेश राय यादवले सातौ नगर सभामा निति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको संविधान २०७२ को मार्ग निर्देशन सिद्धान्त तथा बिकास नीति, स्थानीय सरकार संचालन ऐन २०७४ योजनाको लक्ष्य, उदेश्य रणनीतिअनुसार नीति तथा कार्यक्रम बनाइएको बताउनुभयो ।

कलैया उपमहानगरपालिकाको आ ब ०७८÷०७९ मा चालू खर्चतर्फ २४ करोड ५५ लाख ८० हजार रकम बिनियोजन गरिएको छ । त्यसैगरी पुजिगततर्फ ५८ करोड १९ लाख छुट्याइएको छ । कलैया उपमहानगरपालिकाको आ ब ०७८÷०७९ मा अनुमानित आय १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार अनुमान गरिएको छ ।

वीरगन्ज, वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ३ अर्ब रुपैया भन्दा बढीको बजेट ल्याएको छ । वीरगन्जको गण्डकस्थित होटल क्र्लाक रिसोर्टमा बिहीबार आयोजित नवौं नगरसभामा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि कूल ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजारको बजेट ल्याएको हो । नगरसभामा महानगरपालिकाकी उपप्रमुख एंव राजश्व परामर्श समितिकी संयोजक शान्ति कार्कीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेटमा चालु खर्च तर्फ १ अर्व ८६ करोड ३५ लाख ४२ हजार ९ सय रुपैया अर्थात ५२.४४ प्रतिशत र पुँजीगत खर्च तर्फ १ अर्व ६२ करोड ३३ लाख ३० हजार १ सय रुपैया अर्थात ४५.६८ प्रतिशत विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ६ करोड ७० लाख ६४ हजार रुपैया अर्थात १.८८ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । कुृल खर्च मध्ये पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार अर्थात ३८.१७ प्रतिशत, सामाजिक विकास क्षेत्रमा १ अर्व १५ करोड ५८ लाख ७२ हजार अर्थात ३२.५१ प्रतिशत, कार्यालय सन्चालनतर्फ ८० करोड ७३ लाख ४३ हजार रुपैया अर्थात २२.७३ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धि क्षेत्रतर्फ वन, वातावरण तथा विपद् समेतमा गरि १३ करोड ३२ लाख ७४ हजार रुपैया अर्थात ३.७५ प्रतिशत र आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार रुपैया अर्थात २.८४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

यस्तै वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरणमा ४२ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म ३२ करोड १६ लाख रुपैया मात्र प्राप्त भएको र सशर्ततर्फ ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएकोमा ६४ करोड ९४ लाख ५१ हजार रुपैया मात्र प्राप्त भएको जनाएको छ । यस्तै राजश्व बाँडफाँड तर्फ २३ करोड ४२ लाख ६७ हजार रुपैया मात्र संघीय सरकारबाट प्राप्त भएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड १६ लाख २० हजार प्राप्त हुने अनुमान गरिएकोमा ८७ लाख १५ हजार रुपैया मात्र, सशर्ततर्फ .३ करोड रुपैया प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रकम नै प्राप्त हुन नसकेको वीरगन्ज महानगरपालिकाले जनाएको छ । विशेष अनुदानमा ७० लाख र समपुरक अनुदानमा ५० लाख रुपैया मात्रै प्राप्त भएको महानगरपालिकाको भनाइ छ ।

वीरगन्ज महानगरपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेटको समीक्षा गर्दा चालु आर्थिक वर्षमा कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार रुपैया खर्च अनुमान गरिएकोमा हालसम्मको अवधिमा १ अर्ब ९९ करोड २८ लाख २ हजार खर्च भई ५१.५९ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ हालसम्म ९२ करोड ३८ लाख ८३ हजार मात्र खर्च हुन सकेको वीरगन्ज महानगरपालिकाले जनाएको छ । त्यसैगरी चालूतर्फ हालसम्म १ अर्व ३ करोड ६५ लाख ५४ हजार मात्र खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ.३ करोड २४ लाख १४ हजार ऋणको सावाँ व्याज भुक्तानी गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

वीरगन्ज महानगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका संस्था र व्याक्तिहरुलाई सम्मानित पनि गरेको छ । नगरसभामा वीरगन्ज महानगरपालिकाले सन्चारमाध्यमतर्फ उत्कृष्ट रेडियोका रुपमा रेडियो वीरगन्जका सन्चालक ध्रुब साह, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, अनलाइन खबर डटकमका संवाददाता सुरेश बिडारी, नेपाल टेलिभिजनका संवाददाता विजय महत्तो, मध्यनेपाल साप्ताहिक पत्रिकाकी प्रकाशक कविता खड्कालाई सम्मानीत गरेको हो । यस्तै हालसालै सर्वोच्च शीखर सगरमाथाको सफल आरोहण गर्नु भएका पर्साको ठोरी ५ निवासी हरेराम खड्का र रोट्रयाक्ट क्लब अफ वीरगन्जलाइ पनि महानगरपालिकाले सम्मानित गरेको छ । यस्तै कोभिड संक्रमणको महामारी नियन्त्रणमा खटिएका वीरगन्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुषाल, नगर प्रहरी जवानहरु प्रभु ठाकुर, रोश्न गुप्ता, विष्णु तिमल्सिना र सन्जय राउतलाई पनि महानगरपालिकाले सम्मानित गरेको छ । नगर प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा भएको नवौं नगरसभाको उद्घाटन सत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, कार्यपालिका सदस्य, ३२ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

पोखरिया÷ पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०७८÷०८९ को पाचौं नगरसभा बिहिबार सम्पन्न भएको छ । नगरसभाको जेष्ठ महिला नागरिक रब्या खातुनले उद्घाटन गर्नुभएको थियोे । नगरसभामा उपप्रमुख सलमा खातुनले आगामी आर्थिक वर्षको लागि ४६ करोड ३० लाख ८२ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो । पोखरिया नगरपालिका मेयर दिपनारायण रौनियारको अध्यक्षतामा भएको सो कार्यक्रममा उदघाटन मन्तव्य दिदै मेयर रौनियारले नगरपालिकाले सिमित स्रोत साधनका बाबजुद नगरको विकासमा काम गरिरहेको बताउनुभयो । उहाँले निर्वाचनको बेला जनतासँग गरिएको बचा पूरा गरिने बताउनुयो । उहाँले सबै जनप्रतिनिधिहरु एकजुट भएर नगरको विकासको लागि अगाडि बढने पनि बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख खातुनले पनि नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह गर्नुभयो । नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत अशोक कोइरालाले जनताहरुको काम छिटो र छरितो हुने दाबी गर्नुभयो । उहाँले जनताको कामकाजमा ढिलासुस्ति गर्ने कर्मचारीहरुलाई कारबाही गर्ने पनि बताउनुभयो । कार्यक्रमको संचालन नगरपालिकाका सहलेखापाल मनोज तिवारीले गर्नुभएको थियो ।

Leave a Reply