सिमरा, भरतपुर फुटबल क्लब बिहीवारबाट सिमरामा शुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।आयोजक नवजनजागृति यूवा क्लबलाई ३–१ को अन्तरले पन्छाउँदै भरतपुरले अन्तिम ८ को यात्रा तय गरेको हो । शुरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापा मगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मले टिमलाई अग्रता दिलाएका थिए ।सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनटमा बराबरी गोलको अवसर बनायो । भरतपुरका डिफेण्डरले डिबक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए ।त्यसको केहि मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।खेलको अन्तिम समयसम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा सुनील श्रेष्ठकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता ग¥यो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनटमा सुनीलले गोल गरेका थिए ।
आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे ।शुक्रबार वीरगन्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीबीच खेल हुने छ ।
खेलअघि नेपाल सरकारका पूर्वमन्त्री एवं बाराका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताको उद्धाटन गरेका थिए ।



















