राजकुमार यादव
मौलापुर,रौतहटस्थित नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीहरुले सार्वजनिक सेवामा अवरोध पु¥याएको भन्दै स्थानीय समाजसेवी ठाग दासले जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा जाहेरी दरखास्त दिनुभएको छ ।नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रबाट प्राप्त हुने सेवा सुविधाबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि यहाँंका कर्मचारीहरुले बन्द गरेपछि दासले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिनुभएको हो ।जाहेरीपत्रमा दासले जिल्ला रौतहट मौलापुर विद्युत प्राविधिकरण वितरण केन्द्रका लेखपाल हरिमाधव सिंह, प्रशासन प्रमुख श्यामसुन्दर प्रसाद यादव, कर्मचारी सुरेशप्रसाद, वृजेशप्रसाद. रौनियार र ईन्जीनीयर महिन्द्र चौधरीलाई विपक्षी बनाउनुभएको छ । मौलापुर वितरण केन्द्रबाट प्राप्त हुने सेवा सुविधाबाट स्थानीयलाई कर्मचारीहरुले मनपरी ढंगले बन्चित गर्दै आएको स्थानीयले बताउदै आएका छन ।कर्मचारीहरुले सेवा रोकेपछि कार्यालयबाट पाउनु पर्ने विद्युत सुविधासम्बन्धि सबै काम प्रभावित बनेको र बिजुली महशुलको रकमसमेत भुक्तानी दिन नपाउँदा पछि ब्याजसहित तिर्नु पर्ने अवस्था आएको र उपभोक्तालाई मार्का पर्ने उहाँले बताउनुभएको छ ।समाजसेवी दासले वितरण केन्द्रको कार्यालय संचालन गराएर विपक्षीहरुबाट निवेदक तथा सो केन्दबाट लिदै आएको सुविधाबाट अन्य व्यक्तिहरुको पर्न गएको असुविधामा क्षतिपूर्ती समेत तिर्न लगाएर उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ६८ बमोजिम आवश्यक कारबाहीको लागि पनि दासले मांग राख्नुभएको छ ।मौलापुर नगरपालिकास्थित विद्युत प्राधिकरण वितरण केन्द्रबाट विद्युत मिटर लिएर विद्युत महसुल भुक्तानी गरी सेवा लिदै आएकोमा र कर्मचारीहरुका कारण मिटर जडान पश्चात सम्पूर्ण जनताले विद्युत सुविधाको उपभोग गर्न पाउनुपर्ने कानुनी अधिकार हनन भएको पनि जाहेरीमा उल्लेख छ ।वितरण केन्द्रका केही कर्मचारीहरुले उपभोक्ताबाट नाजायज रुपमा रकम संकलन गर्ने गरेको र सोको विरोध गर्दा कर्मचारीले फागुन ११ गतेदेखि कार्यालयको सम्पूर्ण कामकाज बन्द गरी सेवा ठप्प पार्दै आएका छन ।


















