गोकुल घोरसाइने
निजगढ,बारा र रौतहट जिल्लाको ऐतिहासिक किसान आन्दोलनका एकमात्र जिवित अगुवा नन्दन अर्यालको ९५ वर्षको उमेरमा निधन भएको छ।लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित अर्यालको उपचारको क्रममा काठमाडौँमा आइतवारराति निधन भएको हो ।बाराको कलैया उपमहानगर पालिका वडा नम्बर–१४ बघवन घर भएका नेता अर्याल बारा र रौतहट जिल्लामा कम्युनिस्ट पार्टीको अगुवाइमा २००९ सालदेखि २०११ सालसम्म भएको किसान आन्दोलनको अगुवामध्येका एक हुनुहुन्थ्यो ।
किसान आन्दोलनको क्रममा मधेसका किसान र भूमिहिन श्रमिकलाई सङ्गठित गर्दै कम्युनिस्ट आन्दोलनलाई मधेसका जिल्लामा स्थापित गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।नेकपा एमालेका नेता एंव बारा र रौतहटकोकिसान आन्दोलनको खोजकर्ता पुरुषोत्तम पौडेलका अनुसार अर्याल २०१३ सालसम्म बारा तथा रौतहट जिल्लाहरूमा संचालित किसान आन्दोलनका एकमात्र जीवित शीर्षस्थ अगुवा हुनुहुन्थ्यो ।
अर्याल २००८ सालमा गठित अखिल नेपाल किसान संघ बारा जिल्ला कमिटीको सदस्यसमेत रहेको र संघको अगुवाइमा यी जिल्लाहरुमा जमिन्दारहरु विरुद्ध तमसुक फट्टा, मोछ उखाडो, रे नही जी कहो, भकारी फोडो, जसको जोत उसको पोत, मोहियानी हक जस्ता अभियान संचालन भएका थिए । उहाँलाई२००९ सालमा बामपन्थी लेखक श्यामप्रसाद शर्माले नेकपाको सदस्यता प्रदान गर्नुभएको थियो ।
नेकपाका नेता तुलसीलाल अमात्यको प्रेरणा र तत्कालिन कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बाराका मधु सिंहको नेतृत्वमा जमिन्दारहरुको थिचोमिचो विरुद्ध किसानहरुले त्यतिबेला बारामा ठूला ठूला प्रदर्शनहरु गरेका थिए ।अर्यालसहित बारा÷रौतहटका नेता, हरिहर यादव, हरिदयाल महतो, खजान्ची साह, देवनारायण साहलगायतले आन्दोलनको नेतृत्व गरेका थिए । सोही क्रममा २०११ सालमा प्रहरीको गोलीबाट गडहल गाउँमा मुखलाल महतोको निधन भएको थियो । महतोलाई अहिले पनि किसान आन्दोलनको शहीदको रुपमा सम्मान गरिदैआएको छ ।शहिद मुखलाल स्मृति प्रतिष्ठानले हालको करैयामाई गाउँपालिकको नरही चोकमा अद्र्धकदको शालिकसमेत निर्माण गरेको छ । शहिद दिवसको अवसरमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले हरेक वर्ष नरही चोकमा भेला भएर श्रद्धाञ्जली सभा आयोजना गर्ने गरेका छन ।
पञ्चायत शासनकालमा पटक–पटक गरी पाँच पटकसम्म जेल जीवन र भारत प्रवासमासमेत बस्नुभएका नेता अर्यालले भूमिगत रुपमा जिल्लाका कम्युनिष्ट पार्टीको संगठन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको एमाले नेता पौडेलको भनाई छ ।किसान आन्दोलनकै क्रममा बारा जिल्लाबाट पक्राउ परेपछि उहाँलाई अन्य सात जना साथीसहित काठमाण्डौको नख्खु जेलमा राखिएको थियो ।
बारा जिल्लाको बघवन गाउँमा जन्मिनुभएका अर्याल सानैदेखि विद्रोही स्वभावको हुुनुहुन्थ्यो । जमिन्दार परिवारमा जन्मिएको र वनारस पढ्दा विद्यार्थी कालमा कांग्रेसका नेता उहाँका आफन्त भान्जा दाइ कृष्णप्रसाद भट्टराई, बटुकप्रसाद भट्टराईसंगको संगतले उहाँमा राजनीतिक चेतनाको विकास भए पनि उहाँ कांग्रेसी राजनीतिमा भने लाग्नु भएन । सर्वहारा वर्गीय चिन्तनमा दृढ अर्याल सिद्धान्त निष्ठ, त्याग र सङ्घर्षको पर्याय हुनुहुन्थ्यो । भूमिगत कालमा राज्यद्वारा कडा निगरानीमा राखिए पनि उहाँले आफ्नो जीवन निस्वार्थ भावनाले जनताको सेवामा समर्पित गर्नुभएको थियो ।
नेता अर्याल तत्कालिन नेकपा संयुक्तबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट उम्मेवार पनि बन्नुभएको थियो । पञ्चायत काल र बहुदल आएपछि पनि नेकपा मानान्धर समुहमा रहनुभएका अर्यालले पछिल्लो समयमा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको पक्षपोषण गर्दैस्वतन्त्र बामपन्थीको रुपमा क्रियाशील रहदैआउनुभएको थियो ।अर्यालको परिवारमा एक छोरा र दुई छोरी छन् ।



















