निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ वडा कार्यालयले प्राविधिक शिक्षा अध्ययन गर्ने वडाभित्रका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।वडा कार्यालयले निजगढ नगरपालिकाभित्र संचालित प्राविधिकधारका विद्यालयहरुमा अध्ययन गर्ने आफ्नो वडाका विद्यार्थीहरुलाई १ लाख रुपैयाको छात्रवृत्ति प्रदान गर्न लागेको हो ।वडा अध्यक्ष सूर्यबहादुर थापा मगरले जारी गरेको सूचनामा आर्थिक वर्ष २०८०-०८१ मा शैक्षिक अनुदान कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र रहेका विद्यालयमा कम्प्युटर इन्जिनियरिङ्ग तथा बाली विज्ञान विषय अध्ययन गर्ने वडा नम्बर ५ मा स्थायी बसोबास भएका छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिने जनाउनुभएको छ । उहाँले छात्रवृत्तिको लागि योग्य विद्यार्थीहरुले आफू अध्ययन गरिरहेको विद्यालयको सिफारिसपत्र, एसइइको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाण पत्रको फोटो कपीसहित सूचना प्रशाशित भएको मितिले ७ दिनभित्र कार्यालयमा आवेदन दिन भनिएको छ । वडा अध्यक्ष मगरले प्राविधिक शिक्षामा आकर्षण बढाउने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको बताउनुभयो । उहाँले कार्यक्रम अन्तर्गत हाल १ लाख रुपैया विनियोजन गरिएको र विद्यार्थीहरुलाई सोही रकम दामाशाहीले वितरण गरिने पनि बताउनुभयो ।नगरभित्र निजगढ ८ को गौरीशंकर माविमा बाली विज्ञान र सार्वजनिक मावि बागदेवमा कम्प्युटर इन्जिनियरिङ्ग कक्षा संचालनमा ल्याएको छ ।
















