निजगढ,बाराको तामागढी– सिम्रौनगढ हुलाकी मार्गमा अधिग्रहण भएको जमिनको मुआव्जा वितरणको लागि सरकारले १० करोड ३० लाख रुपैया बिनियोजन गरेको छ ।बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको पहलमा सरकारले सो रकम बिनियोजन गरेको हो । सांसद मैनालीका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा हुलाकी राजमार्ग योजना कार्यालय पर्सा वीरगञ्जमार्फत वितरण गर्ने गरी रकम विनियोजन भएको छ ।हुलाकी मार्गअन्तर्गत आयोजनाले अधिग्रहण गरेको जमिनको मुअब्जा लामो समयदेखि जग्गाधनीले नपाएको भन्दै मैनालीले प्रतिनिधि सभा बैठकमा पटक पटक सरकारको ध्यानाकर्षण गराउदै आउनुभएको थियो । सांसद मैनालीले प्रधानमन्त्री पुष्पकमल दहालसंग संसदमा भएको प्रतक्ष्य प्रश्नोत्तर कार्यक्रममा समेत पीडितले पाउनु पर्ने मुअब्जाको विषयमा प्रश्न गर्नुभएको थियो । त्यसैगरी २०८०-०८१ को बजेट निर्माणको क्रममा समेत सांसद मैनालीले मुअब्जा वितरणको लागि बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा समेत पत्राचार गर्नुभएको थियो ।गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मैनाली र प्रदेश सभा सदस्य जसपाका उम्मेदवार एवंम हाल मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा तामागढी– सिम्रौनगढ हुलाकी सडक निर्माणको क्रममा अधिग्रहण गरिएको जमिन धनीलाई मुअब्जा उपलब्ध गराउन पहल गर्ने भनिएको थियो ।दुबै पार्टीका उम्मेदवारहरुले संयुक्त रुपमा सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा तामागढी– सिम्रौनगढ हुलाकी सडक निर्माण हुँदाको बखत दिन बाँकी मुअब्जा उपलब्ध गराउन पहल गर्ने र आदर्शकोतवाल गाउँपालिकाको टेडाकट्टी खण्डमा बैकल्पिक सडक निर्माण गर्ने उल्लेख गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here