निजगढ,निजगढ नगरपालिकाको मुख्य बजार र भित्री सडकका किनारामा समेत अव्यवस्थित रुपमा तानिएका तारका कारण निजगढ स्मार्ट सिटी कुरुप बनेको छ । अव्यस्थित रुपमा जडान गरिएको तारले शहरको स्वरुपसंगै दुर्घटना जोखिमसमेत बढाएको छ ।बिजुलीको पोलमा टेलिफोन, इन्टरनेट र केवल सेवा प्रदायका विभिन्न निजी कम्पनीले तानेको तार हटाउन र नियन्त्रण गर्न सरोकारवाला निकायले चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका छन ।निजगढ– ८ स्थित औतारटोलमा लत्रेको तारका कारण पैदल यात्रु, सवारी साधन र आसपासका स्थानीयले सास्ती बेहोर्दै आएका छन । त्यसैगरी निजगढ नगरका विभिन्न स्थानमा बिजुलीको लठ्ठा र पोलमा तार गुजुल्टो पारेर राखिएको छ भने धेरै स्थानमा बिजुलीको पोल नै ढल्केर ढल्ने अवस्थामा पुगेको देखिन्छ । जसका कारण सडक प्रयोगकर्ता सर्वसाधारण जोखिममा छन । बिजुलीको पोल र लठ्ठामा बाधेर जथाभावी तानिएको तारले विद्युत सेवासमेत अवरुद्ध हुने गरेको छ । केही समयअघि यही कारणले नगरपालिकाको रतनपुर क्षेत्रमा विद्युत सेवा अवरुद्ध बन्न पुगेको र उपभोक्ताहरु हप्तौसम्म अन्धकारमा बस्नुपरेको थियो ।


















