कलैया,
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले स्थानीय निकायहरुलाई थप मजबुत बनाउनु पर्ने बताउनुभएको छ ।
कलैया उपमहानगरपालिकाले मुख्यमन्त्री सिंहको सम्मानमाशुक्रवार कलैयामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकार स्थानीय तहलाई थप मजबुद बनाउन लागि परेको बताउनुभएको हो । प्रदेश सरकारबाट प्रदान गरिने ससर्त अनुदानको बजेट स्थानीय तहकै सिफारिसमा खर्च हुनेगरी व्यवस्था गर्न लागिएको पनि बताउनुभयो ।
उहाँले पहिलाको सरकारले जस्तो आफ्नो नेतृत्वको सरकारले कार्यकर्तालाई बजेट बाँडने कार्य नगरी जनताको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको अध्यक्षता गर्नुभएका कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले पूर्वमुख्यमन्त्री तथा मन्त्रीहरुले कमिशन बिना बजेट तथा योजना नदिएको गुनासो गर्दै अबको नेतृत्वले त्यस्तो हुन नदिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले यसअघिको सरकारले कलैया उपमहानगरपालिकासंग व्यापक विभेद गरेको सुनाउँदै यहाँको विकाशका लागि प्रदेश सरकारको लगानी आवश्यक रहेको बारे मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराउनुभएको थियो ।मुख्यमन्त्री सिंहले कलैयाको गौरवको योजनाको रुपमा रहेको वडा नम्बर १ मा निर्माणाधिन ‘टाउन हल’को अनुगमन तथा कलैया–२४ स्थित कृषि मेलाको उद्धाटन समेत गर्नुभएको थियो ।सो अवसरमा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतकाले मुख्यमन्त्री सिंहलाई दोसल्ला ओढाएर र मायाको चिनो दिएर सम्मान गरेका थिए।

















