निजगढ,निजगढ नगरपालिकाको रतनपुर क्षेत्रमा जंगली जनावरको प्रकोप न्युनीकरणको लागि पर्सा वन्यजन्तु निकुञ्जले स्थानीय तह र सरोकारवाला निकायहरुको समन्वयमा चेतनामूलक कार्यक्रम संचालन गर्ने भएको छ ।नगर प्रमुख सुरथ पुरीको कार्यकक्षमा सोमवार भएको सर्वपक्षीय बैठकले निजगढ नगरपालिका वडा नम्बर ११, १२ र १३ अन्तर्गत रतनपुर क्षेत्रमा पछिल्लो समय देखापरेको वन्यजन्तुको प्रकोप न्यूनीकरणको लागि कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।बैठकमा वन्यजन्तुको प्रकोप रोकथाम गर्न आरक्षको सीमा क्षेत्रभित्र पर्ने बस्तिहरुमा सुरक्षाकर्मीको नियमित र प्रभावकारी गस्ति संचालन गर्ने तथा समस्याको दीगो समाधनको लागि दीर्घकालिन योजना निर्माण गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी स्थानीयको सहजताको लागि निकुञ्ज बाहिरको क्षेत्रमा घाँस दाउरा संकलन गर्न जानेलाई निकुञ्जले सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय पनि भएको निजगढ नगरपालिका कार्यालयका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभएको छ ।बैठकमा निजगढ नगरपालिका क्षेत्र भएर बग्ने शक्ति खोला, लाल÷भक्तलाल खोलामा नदीजन्य पदार्थ थुप्रिई बाढीबाट खेतीयोग्य जमिन, वनजंगल, मानववस्तीमा क्षति पुग्ने भएकोले पर्सा राष्ट्रिय निकुञ्ज र निजगढ नगरपालिकाको समन्वय एवं सहकार्यमा नदी नियन्त्रण एवं व्यवस्थित तटबन्धन निर्माण कार्य गर्ने निर्णय पनि भएको छ ।पछिल्लो समय रतनपुर क्षेत्रमा वन्यजन्तुले घरपालुवा चौपाय मारेर खाने क्रम बढेपछि चिन्तित स्थानीयबासिन्दाको आग्रहमा नगरपालिकाले छलफल कार्यक्रमको आयोजना गरेको हो ।नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको बैठकमा वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरोले पर्सा वन्यजन्तु निकुञ्जको क्षेत्र विस्तार गरिएसंगै रतनपुर क्षेत्रमा बाघ, हात्ती र बदेल जस्ता वन्यजन्तुले स्थानीयले पालेका चौपाय मार्ने र अन्नबालीमा क्षति पुर्याउने क्रम बढेको बताउनुभयो । उहाँले वन्यजन्तुबाट पुगेको क्षतिमा आरक्षले किसानलाई अहिलेसम्म कुनै राहतको व्यवस्थान गरेको बताउदै प्रकोप न्यूनीकरणको लागि योजना बनाएर काम गर्न आग्रह गर्नुभयो ।त्यसैगरी वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यबहादुर घलानले पछिल्लो एक वर्षभित्र उक्त क्षेत्रमा बाघले १ दर्जनभन्दा बढी चौपाय मारेर खाएको जानकारी दिदै वन्यजन्तुको प्रकोप नियन्त्रणको लागि आरक्ष कार्यलयले प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै पर्सा वन्यजन्तु निकुञ्जका वार्डेन मनोज रामले निकुञ्जको जंगलमा बाघको संख्या बढेको जानकारी दिदै वन्यजुन्तको प्रकोप नियन्त्रणको लागि स्थानीयले अपनाउनुपर्ने उपायको बारेमा सुझाउनुभएको थियो । उहाँले वन क्षेत्रसंग जोडिएका देशभरिका अन्य बस्तिहरुमा यस्तो समस्या रहेको पनि बताउनुभयो ।कार्यक्रममा निजगढ नगर उपप्रमुख सोममाया थिङ्ग, निकुञ्जका प्रमुख सेनानी मुक्तिविक्रम शाह, नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, स्थानीय संचारकर्मी र सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि र स्थानीयकोे सहभागिता रहेको थियो ।

Leave a Reply