काठमाडौं । सीमा सुरक्षा सुदृढ बनाउने, सीमापार अपराध नियन्त्रण गर्ने र आधुनिक प्रविधिको प्रयोग बढाउने प्रतिबद्धतासहित नेपाल–भारत सशस्त्र प्रहरीबीचको १०औँ समन्वय बैठक सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा काठमाडौंमा भएको बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
बैठकले मानव बेचबिखन, लागूऔषध तथा अवैध तस्करी, नक्कली नोटको कारोबार र तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन रोक्न दुवै देशबीच समन्वय बढाउने सहमति गरेको छ । खुला सीमाको दुरुपयोग रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाउने र दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।
त्यस्तै, दशगजा क्षेत्रमा हुने अतिक्रमण, अनधिकृत खेतीपाती र अवैध संरचना हटाउन निरन्तर पहल गर्ने तथा सीमा स्तम्भको मर्मत, सम्भार र पुनर्निर्माणमा सहकार्य गर्ने सहमति भएको छ ।
सीमा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सीसीटीभी, लगेज स्क्यानर, वाक–थ्रु मेटल डिटेक्टर र ड्रोनको प्रयोग बढाउने विषयमा पनि छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकमा प्राकृतिक विपद्का बेला संयुक्त उद्धार अभ्यास सञ्चालन गर्ने, सुरक्षा निकायबीच तालिम तथा अध्ययन भ्रमण आदानप्रदान गर्ने र सीमा नाकामा यात्रु सहायता कक्ष विस्तार गर्ने विषयसमेत समेटिएको छ ।
सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा हुँदै आएको द्विपक्षीय समन्वय बैठकको अर्को संस्करण आगामी वर्ष भारतमा आयोजना गर्ने सहमति भएको छ ।

















