गोकुल घोरसाइने

कलैया, बाराको सीमावर्ती नाका गुलरियाबाट सीमा सुरक्षा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्यगागजिन र ७ राउन्ड गोलीसहित आइतबार पक्राउ गरेको छ ।पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमारलाई आइतवार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी १२ नम्बर गण कलैयाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले बताउनुभयो ।उनको साथबाट पत्नी, उनी आफैं र दाइको नाममा रहेको भारतीय आधार कार्डसहित ११ हजार २ सय ७० भारतीय रूपैयाँसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार अंग्रेजी नयाँ वर्षको चहलपहललाई लक्षित गर्दै आपराधिक गतिविधि गर्न नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सिम्रौनगढमार्फत जिल्ला प्रहरी कार्यालय कलैयाको जिम्मा लगाइएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एंव प्रहरी प्रवक्ता राजेश थापाले बरामद हरियार चन्दनकुमारले भारतमा दर्ता गरेर प्रयोगकोलागि इजाजत लिएको पाइएको बताउनुभयो । उहाँले हतियारसहित पक्राउ परेका उनीमाथि हातहतियारसम्बन्धि मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘भारतको लागि इजाजत लिएको हतियार बोकेर नेपाल प्रवेश गर्न पाइदैन, उहाँले भन्नुभयो, नेपालको कानुन अनुसार उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा कारबाही हुने छ ।’पछिल्लो समय भारतबाट हरियारसहित नेपाल प्रवेश गरी जिल्लामा अपराधिक गतिविधि संचालन गर्ने क्रम बढेको छ । दुई साताअघि हतियारसहित आएको समुहले जिल्लाको महागढीमाई नगरपालिकामा भारतीय नागरिक शिवपुजन यादवको गोली हानी हत्या गरेको थियो ।

Leave a Reply