सिमरा,साना किसान कृषि सहकारी संस्था सिमराले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा अमलेखगञ्जस्थित अहिंसावादी साङ्गे छयोईलिङ्ग बौद्ध गुम्बा आवासीय विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।संस्थाकी अध्यक्ष कमला अधिकारीको नेतृत्वमा सहकारी टोलीले गुम्बा पुगेर व्यवस्थापन समितिकी अध्यक्ष फुलमाया लामालाई चामल, दाल, तेल, सोयाबिन, चिउरा, नुन, पिठो, आलु, प्याज, भुजा लगायतका सामग्री हस्तान्तरण गरेको हो।सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष अधिकारीले गुम्बामा सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उक्त गुम्बा आवासीय विद्यालयमा ६० जना अनाथ, असहाय तथा विपन्न बालबालिका आवासीय रूपमा शिक्षादीक्षा लिइरहेका छन्। विद्यालयको सम्पूर्ण पालनपोषण, शिक्षा तथा संरक्षणको जिम्मेवारी गुम्बाले नै लिएको छ ।कार्यक्रममा गुम्बा व्यवस्थापन समितिकी सचिव आनी छोइङ डोल्माले सहकारी संस्थाको सहयोगले बालबालिकाहरूमा सकारात्मक ऊर्जा र प्रेरणा थपिएको उल्लेख गर्दै यस्ता सहकार्यले समाजमा मानवता र सहयोग संस्कार विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

















