बारा,हालै संचालनमा आएको सिम्रौनगढ मालपोत कार्यालयबाट सेवा लिन अपायक परेको भन्दै कलैयाबाट पूर्ववत सेवा दिनु पर्ने माग गर्दै आन्दोलनरत महागढीमाई नगरपालिका वडा नम्बर– ९ पिप्राबिर्ताका स्थानीयले मंगलवार जिल्ला सदरमुकाम कलैयामा जुलुस प्रदर्शन गरेका छन । महागढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिलिप शुक्लाको नेतृत्वमा मालपोत कार्यालय अगाडिबाट निस्केको जुलुसका सहभागीहरुले हातमा कलैयाबाट यथावत सेवा गर, सिम्रौनगढको सेवा चाहिदैन, जनतालाई अपायक सेवा दिन पाइदैन जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन ।प्रदर्शनकारीहरुको भीडले जिल्ला प्रशासन कार्यालय अगाडिको सडक केही बेर अवरुद्ध बनेपछि प्रहरीसंग समान्य विवादसमेत भएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको प्रयासमा भिडन्तको अवस्था रोकिएको र अप्रिय घटना हुन पाएन ।

गाउँबाट आएका महिलाको अत्याधिक सहभागिता रहेको सो विरोध जुलुश भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । वडा अध्यक्ष शुक्लाको अध्यक्षतामा कोणसभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले अपायक सेवा निर्णय गलत भएकोले यसलाई तत्काल सच्याउनुपर्ने बताउनुभयो । ‘सरकारको काम नागरिकलाई सास्ति होइन सुविधा दिने हो, कोणसभामा बेल्दै अध्यक्ष दासले भन्नुभयो, घरपायक सेवा पाउने अधिकारको लागि नागरिकले गरेको आन्दोलनमा सबैले समर्थन गर्नुपर्छ ।’सभामा बोल्दै पन्नालाल दासले जनताको सुविधाको लागि सुरु गरिएको आन्दोलनको माग पुरा नभएसम्म पिप्राबिर्ताका जनता बिचलित नहुने बताउनुभयो । सरकारलाई पहिले आफैले कम बिगार्ने अनि जनताले गरेको आन्दोलनबाट धनजनको क्षेति भएपछि निर्णय सच्याउने बानी परेको दासले भन्नुभयो । ‘आन्दोलनबाट क्षति पुग्नु अगाबै जनताको न्यायोचित माग पुरा गर्नुपर्छ, उहाँले भन्नुभयो, अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्छ ।’

 

कार्यक्रममा देवताल गापाका अगुवा रामचन्द्र चौधरीले पनि पिप्राबिताका जनतालाई सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रभित्र राख्ने निर्णय त्रुटिपुर्ण रहेकोले सच्याउन माग गर्नेभयो । सभामा पूर्वशिक्षक मोहन सिंह, माओवादीका शिव महतो, कांग्रेसका नन्दु यादव लगायतकाले सरकारको निर्णय खारेज गरि कलैया यथावत राख्न माग गर्नुभएको थियो । कार्यक्रमको संचालन रामबाबु यादवले गर्नुभएको थियो ।

 

कार्यक्रममा वडा सदस्य उमेश दास, रामप्रवेश महतो, ससिव कुमारी र सुनैना देवी बैठा, स्थानीय पूर्ववडा सदस्य किसमतिया देवी, बैधनाथ सहनी, शम्भु पटेल भेरो दास, राजेश साह, गंगाजली देवी, तारा देबी, किरण देवी, मान्ती देवी,  रामकेवल यादव, जगेश्वर यादव, बिन्दु यादव, राजेन्द्र राम, सिकेन्द्र राम, कमल राम लगायत सहभागी भएका थिए ।

यसअघि रहेको कलैयास्थित जिल्ला मालपोत कार्यालयबाट हटाएर हालै संचालनमा आएको सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रमा राखिएकोमा पिप्राबिर्ताबासीले विरोध गर्दै आएका छन । साविकको पिप्राविर्ता गाविसबाट १० मिनेटमा नै पुग्न सकिने कलैयाबाट हटाएर १ घण्टाभन्दा बढी समय लाग्ने सिम्रौनगढमा राखिएकोमा उनीहरुले असहमति जनाउदै आएका छन ।त्यसैगरी सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रभित्र राखिएपछि जिल्लाको देवताल गाउँपालिकाका केही वडाका बासिन्दालाई पनि सेवा अपायक भएको गाउँपालिकाका अध्यक्ष उदयचन्द्र यादवले कलैयाबाट नै सेवा पाउनुपर्ने गरी व्यवस्था मिलाइदिने प्रमुख जिल्ला अधिकारीलाई सोमवार पत्र बुझाउनुभएको छ । अध्यक्ष यादवले पालिकालाई सिम्रौनगढ मालपोतको सेवा क्षेत्रमा राखेपछि असुविधा भएको बताउनुभएको छ ।कार्यालयको उद्धाटन गर्न बुधवार सिम्रौनगढ आइपुग्नुभएकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलाई पनि भेटर असहमति पत्र बुझाउनुभएको थियो । जिल्लाको सिम्रौनगढ, आदर्शकोतवाल, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई नगरपालिकालगायत ६ वटा पालिकालाई कार्यालयको सेवा क्षेत्रभित्र राखिएको छ । देवतालबाट कलैयाको दुरी १० किमी मात्रै छ भने सिम्रौनगढ पुग्न स्थानीयले २० किमी दुरी पार गर्नुपर्ने हुन्छ ।

Leave a Reply