राजन कुमार बानिया
पोखरिया,पर्सा जिल्लामा जनप्रतिनिधिहरुको आपसी विवाद र भागभण्डा नमिलेका कारण ६ वटा पालिकामा नगर र गाउँ सभा सम्पन्न हुनसकेको छैन ।समयमै नगर र गाउँसभा सम्पन्न नहुँदा पालिकाको नियमित सेवा प्रवाह र सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दिवा खाजा कार्यक्रम प्रभावित भएको छ ।जिल्लाको बहुदरमाई नगरपालिका, धोबिनी नगरपालिका, कालिकामाई गाउँपालिका, जिराभवानी गाउँपालिका, बिन्दबासनी गाउँपालिका र पकहामैनपुर गाउँपालिकाले हालसम्म पालिका सभा गर्न नसकेका हुन ।संविधानको व्यवस्था अनुसार स्थानीय तहहरुले असार १० गतेभित्र सभा सम्पन्न गर्नु पर्ने हुन्छ । स्थानीय तहका प्रतिनिधिहरुको आर्थिक विवाद र राजनीतिक खिचातानीका कारण संवैधानिक व्यवस्थाअनुरुप जिल्लाका केही स्थानीय तहहरुले हालसम्म पनि सभा गर्न नसकेका हुन ।


















