अहिले समाज निकै अगाडि बढेको छ । बिश्व नै निकै नजिक भइरहेको आभास सबैलाई छ । मानिस चन्द्रमामा समेत पुगेर आइसके । धर्मको नाउमा आस्था राख्न पाउने मानिसको अधिकार भएपनि कथित अन्धविश्वासको आधारमा कसैमाथि अपराध गर्न पाइने छैन । अपराधमा कदापि छुट हुने छैन ।तर हालै बाराको पचरौता नगरपालिकामा बोक्सीको आरोपमा एकजना एकल महिलामाथि कुटपिटसहित कपाल मुण्डन गरेको घटना बाहिर आएको छ । यसरी कथित बोक्सीको आरोपमा अझै पनि एक गरिब, दुःखी तथा बेसाहारा महिलामाथि कुटपिट हुनु भनेको मानवता बिरुद्धको अपराध त हुदै हो नै कानुनी रुपमा भने हदैसम्मको दण्डनीय कुरा हो । यस्तो जघन्य अपराधमा संलग्नलाई आजीवन कारावासको सजायँ हुनु पर्दछ ।तर, नेपालको सन्दर्भमा एक त न्यायलयले कस्तो फैसला गर्छ भन्नेमा नै आशंका गर्ने ठाउँ हुन्छ भने दोश्रो जेल गएपनि त्यो व्यक्ति राजनीतिक पहुँचको आधारमा लोकतन्त्र, गणतन्त्र दिवस वा यस्तै बाहानामा निस्कने संभावना पनि उत्तिकै हुन्छ । त्यसैले पनि यस्तो जघन्य अपराधीलाई कारबाही भएपनि हदैसम्म हुनेमा आशंका गर्ने ठाउँ रहन्छ ।तैपनि यो कुकर्ममा कुनै पनि हिसावले क्षम्य र स्वीकार्य हुने कुरै आएन । यस्तालाई सामाजिक बहिष्कार पनि गर्नु पर्दछ ।गरिकहरुको बाच्न पाउने अधिकारमाथि धावा बोल्दै कसैलाई पनि कथित बोक्सी जस्ता अन्धविश्वासको आरोप लगाउने अधिकार छैन ।बारा सहितका केही जिल्लाहरुमा यस्ता अपराधहरु भइरहेको देखिन्छ । यो असहाय माथिको बर्बरता हो । यस्तो अपराध कुरामा कुनै पनि हालतमा क्षम्य हुनेछैन । यस्तालाई कडा कारबाही हुनु नै पर्दछ ।


















