आइतवार एकैपटक नेपालमा आम चुनाव सम्पन्न भएको छ । चुनावको समीक्षा भइरहँदा सोमवारको अनुमानले देशभर ६० प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको अनुमान गर्न सकिन्छ । यद्यपि यो क्रम बढ्न पनि सक्छ वा घट्न पनि ।
तर, देशभर भएको मतदानको अवस्थाले भने केही न केही संदेश राजनीतिक दलहरुलाई दिएको छ । करिब ६ महिना अगाडि स्थानीय चुनाव भएको थियो तर त्यत्तिबेला आम नागरिकहरुमा निक्कै ठूलो उत्साह थियो । अहिले उत्साह घटेको छ । यो कुराको मतदान भएको प्रतिशतले पनि पुष्टी गर्दछ । हिजो बिहान लगभग देशका प्राय सबै मतदान केन्द्रहरु सुनसान जस्तै थिए तर बैशाखको स्थानीय तह चुनावमा त्यस्तो थिएनन् अनि अघिल्लो २०७४ सालको आम निर्वाचनमा पनि मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो ।
यसपाली निर्वाचनमा मतदाताहरुमा उत्साह नहनु आफैमा राम्रो संदेश होइन । लोकतन्त्रमा निर्वाचन र त्यसमा नागरिकहरुको सहभागिताको ठुलो महत्व हुन्छ । तर चुनावप्रति देखिएको नागरिकको यो निराशा बारे राजनीतिक दलहरु गम्भीर बन्न आवश्यक छ । यसपटकको निर्वाचनमा मतदाताहरुको न्युन सहभागिताले आम नागरिकहरु अहिले देशमा विद्यमान व्यवस्थाप्रति त्यत्ति आकर्षित नभएको अर्थमा पनि बुझ्नु पर्ने हुन्छ ।
त्यसैले मतदाताहरुमा उत्साह यसरी नै घट्दै जाने हो भने लोकतन्त्रको जननीको रुपमा हेको चुनावप्रति बितृष्णा आउन सक्ने खतरा बढ्दै जानेछ ।