वीरगञ्ज,देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८१÷८२ को पहिलो महिना साउनमा १२ अर्बभन्दा बढी राजश्व संकलन गरेको छ ।
वीरगञ्ज भन्सारले दिएको तथ्यांक अनुसार साउन महिनामा कुल १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजश्व संकलन गरिएको छ । यस महिनामा सबैभन्दा बढी आयातबाट चार अर्ब ९७ करोड ५२ लाख ३८ हजार राजश्व उठाएको छ । यस्तै मूल्य अभिबृद्धि करबाट चार अर्ब ५८ करोड ५६ हजार संकलन गरेको छ । अन्त शुल्कबाट ९४ करोड ४१ लाख ९१ हजार वीरगञ्ज भन्सारले उठाएको छ ।
साउन महिनामा १२ अर्बभन्दा बढी राजश्व संकलन भएको भएपनि भन्सार विभागले दिएको राजश्व लक्ष्यभन्दा भने २८ प्रतिशतले कम हो । साउन महिनामा विभागले वीरगञ्ज भन्सारलाई १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजश्व उठाउन लक्ष्य दिएको थियो ।साउन महिनामा सबैभन्दा बढी वीरगञ्ज भन्सारबाट पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल आयात भएको छ । यसैगरी मोटरसाइकल, एलपी ग्याँस, जीप कार भ्यानलगायतका बस्तुहरू मुख्य रुपमा आयात भएका छन् भने जुस जाम, फलामे पाता, पिना, जमोठ कपडालगायतका बस्तुहरु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।