सरकारले मंगलवार सदनमा निकै रस्साकस्सीपछि आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।
संबिधानमा भएको व्यवस्था अनुसार सरकारले मंगलवारबाट सदनमा बजेट प्रस्तुत गरेको हो । बजेट ल्याउन नदिने विपक्षी दलको पनि योजना थियो तर पैसा त विपक्षी दललाई पनि आवश्यक पर्छ नि ! अन्ततः विपक्षी दल बजेट ल्याउन दिन सहमत भयो र सरकारले मंगलवार बजेट ल्याएको छ ।
पछिल्ला केही वर्ष यतादेखि बजेट हरेक वर्ष जेठ १५ गते नै आउने गर्दछ तर यसले नयाँ कुरा पनि केही न केही ल्याएको हुन्छ तर आम नागरिकहरुको जीवन स्तरमा भने यसले कुरै परिवर्तन गरेको देखिदैन । झट्ट सुन्दा र हेर्दा बजेट एकदमै राम्रो र सुन्दर भए पनि जनताका लागि बजेटले केही दिएको देखिदैन । मंगलवार सार्वजनिक भएको १८ खर्बभन्दा बढी पैसाको बजेट पनि जनताको जीवनसंग सरोकार राख्ने निकै कम छ ।
यसपाली कर्मचारीको तलब वृद्ध नभए पनि घुमाइघुमाइ भत्ता बढेकै छ । जनप्रतिनिधिहरुलाई पनि सुविधा दिइएकै छ । केही महत्वकांक्षी योजनाहरु सरकारले बजेटमार्फत सार्वजनिक गर्छ जुन पूरा हुनसक्दैन । अझै बजेट ल्याएर पनि खर्च गर्न नसक्ने सरकारको कुरा त यही आर्थिक वर्षको पूँजीगत खर्चको अवस्था हेरे पनि पुग्छ । सरकारले ल्याएको बजेटको कार्यान्वयन पक्ष महत्वपूर्ण हो जुसमा सरकार खासै सफल भने भएको छैन । त्यसैले यो आम नागरिकहरुका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भने जस्तो हँुदै आइरहेको छ र यसपालीको बजेटमा पनि जनताले यही नियति बेहोरेका छन ।














