नेपालका सामुदायिक विद्यालयहरुका शिक्षकहरु विगत लगभग प्रन्ध दिनदेखि आन्दोलनमा छन् । उनीहरुले विभिन्न माग राखेको पनि पाइएको छ । झट्ट हेर्दा सबै शिक्षक लागेपनि आन्दोलनमा सबै मात्रै शिक्षक छैनन् । शिक्षकसंगै विद्यालयका कर्मचारीहरु पनि आन्दोलनमा छन् । अनि एउटै प्रकारका शिक्षकहरु पनि आन्दोलनमा छेनन् ।अब बैशाख महीना पनि लागि सकेको छ । यो भनेको विद्यार्थीको नयाँ भर्ना हुने समय हो । नयाँ भर्ना हुने समयमा शिक्षकहरु आन्दोलनमा उत्रिदा विद्यार्थीहरुको भविष्यको जिम्मा कसले लिने यो प्रश्न त शिक्षकमाथि नै तर्सिनेछ अनि आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकार पनि त हनन् भएको छ नि ।
सरकार भन्ने निकाय नै यो देशमा छैन । शासन सत्तामा रहेकाहरुले कसैको अवाज सुन्दैनन् । यिनीहरुका लागि आन्दोलन गर्नुपर्ने बाध्यता शिक्षकहरुसंग भएपनि अब शिक्षकहरुले पनि सोच्नु पर्छ कि ? किन भने शिक्षक भनेको त जिम्मेवार पेशा हो । अत्यन्त मर्यादित पेशा हो । तलब कम भएपनि प्रतिष्ठाका लागि काम गर्ने पेशा हो । यसो भन्दैमा शिक्षकहरुको समस्या नै छैनन् भन्न खोजिएको होइन तर सरकार भन्दा पनि गैर जिम्मेवारी शिक्षक नबन्दा उचित हुन्छ कि भन्ने हो ।
त्यसो त सरकारले केही प्रयास गर्न खोजेको जस्तो पनि देखिन्छ । फेरि सबै शिक्षको माग सरकारले संबोधन गर्ने अवस्था छ कि छैन यो पनि मुख्य कुरा होला । त्यसैले सरकारको पछाडि लाग्नु, सरकारलाई दबाब दिनु उचित भएपनि परीक्षाफल नै ननिकाल्नु, भर्ना अभियान संचालन नगर्नु जस्ता कार्य भनेको बालबालिकाहरुको अधिकारमाथिको हनन् पनि हो । त्यसैले अब शिक्षकहरुले गम्भीर भएर आन्दोलनको समीक्षा र विकल्पको खोजी गर्ने हो कि ?

















