रौतहट,चट्याङ लागेर मृत्यु भएका परिवारलाई गरुडा नगरपालिकाले किरिया खर्च बापत २५ हजार सहयोग गर्ने भएको छ । मृतकका परिवारलाई तत्काल २५ हजार दिने गरुडा नगरपालिकाका मेयर कन्थमनीप्रसाद जयसवालले घोषणा गर्नु भएको हो । मेयर जयसवाल तत्कालै घटनास्थल पुगेर पीडित परिवारसंग कुरा गर्दै नगरपालिकाबाट पिडित परिवारलाई थप सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । साथै उहाँले विपद् व्यवस्थापन समिति लगायत अन्य निकायसंग समेत कुरा राखेर पिडित परिवारलाई राहत पुर्याउन पहल गर्ने बताउनुभयो । सोहि घटनामा घाईते भएकाको उपचारमा लाग्ने खर्च समेत नगरपालिकाले बेहोर्ने उहाँले घोषणा गर्नुभएको छ । घाइतेहरुको गरुडा सिटी हस्पिटलमा उपचार भइरहेको छ ।
मंगलवार गरुडा नगरपालिकाको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको थियो । गरुडा नगरपालिका–३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा मंगलवार बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको नगरपालिकाका उपमेयर पुनमकुमारी चौधरीले जानकारी दिनुभयो ।
चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन ।