वीरगन्ज,वीरगन्जका अस्पतालहरुमा घुमाउदा घुमाउदै उपचार नपाएर सोमबार राति एक किशोरीको एम्बुलेन्समा नै मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिका वडा नम्बर ४ कनकपुरकी १७ बर्षिया किशोरीलाई वीरगन्जको तीन वटा अस्पतालमा घुमाउदा पनि उपचार नपाएपछि ज्यान गुमाउनु परेको हो । मृगौलाको समस्याबाट पीडीत किशोरीलाई शुरुमा गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गर्न लगिएको थियो । त्यहाँ आधा घण्टा राखेर पनि अस्पतालले भर्ना नलिएपछि ती किशोरीलाई वीरगन्जको बसपार्क नजिकैको भवानी हस्पिटलमा लगिएको थियो । तर भवानी हस्पिटलले पनि आधा घण्टाजति राखेर भर्ना नगरी फिर्ता पठाइ दिएपछि नारायणी अस्पतालमा लगिएको तर नारायणी अस्पतालले पनि नमानेपछि किशोरीलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो । तर नेशनल मेडिकल कलेजमा पु¥याइए पनि त्यहाँका चिकित्सकले एम्बुलेन्समा राखेर ल्याउने क्रममा बाटोमा नै किशोरीको मृत्यु भईसकेको बताएको कोभिड एक्सन टिम क्याटका सदस्य एवं पत्रकार अमित अग्रवालले बताउनुभयो । यद्यपि नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन डा. बीरेन्द्र प्रधानले भने किशोरीको उपचार अभावमा मृत्यु भएको भन्ने खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले नारायणी अस्पतालबाट ती किशोरीलाई फिर्ता नगरिएको बरु अस्पतालमा भर्ना लिएर उपचार गर्ने तयारी हुदैगर्दा एम्बुलेन्सबाट नै उनलाई ननिकालेर अन्य अस्पतालमा लगिएकोका कारण आफुहरुको दोष नभएको स्पष्ट पार्नुभएको छ ।