निजगढ,बाराको पचरौता नगरपालिकाले आइतवार नगरपालिका वडा नम्बर ५ का ८५ घरपरिवारलाई खाना पकाउने ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ ।बेनौलीस्थित नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच नगर प्रमुख जलन्धर सिंहले ८५ घरपरिवारलाई सिलिण्डर र चुल्हो वितरण गर्नुभएको हो ।

नगर प्रमुख सिंहले निर्वाचनको समयमा नगर क्षेत्रभित्रका एक हजार दुई सय ६५ परिवारलाई सिलिण्डर र चुल्हो वितरण गर्ने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुरुप नगर प्रमुख सिंहले सिलिण्डर र चुल्हो वितरण गर्न शुरु गर्नुभएको हो ।
नगर प्रमुख सिंहले मानव स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले सिलिण्डर र चुल्हो वितरण गरेको र अभियानले निरन्तरता पाउने बताउनुभयो । खाना पकाउनका लागि दाउरा, कोईला, गुईठाको प्रयोग गर्दा धुवाँले स्वास्थ्यमा असर पर्ने भएकाले त्यसलाई निरुत्साहित गर्न यो अभियान थालेको सिंहको भनाई थियो ।

खाना पकाउनकै लागि दिनहुँ दाउरा खोज्नुपर्ने बाध्यतामा रहेका स्थानीय सिलिण्डर र चुलो पाएपछि खुशी देखिएका छन् । नगरपालिकाले विपन्न परिवारको पक्षमा काम गरेको बताउँदै स्थानीयले नगर प्रमुखसहित जनप्रतिनिधिलाई धन्यवाद दिएका थिए ।कार्यक्रममा नगर प्रमुख सिंहसहित प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडा नम्बर ५ का अध्यक्ष एवम् प्रवक्ता लक्ष्मी यादव, वडा नम्बर ६ का अध्यक्ष मकबूल मियाँ अंसारी, वडा नम्बर ३ का अध्यक्ष धेनुक राउत कुर्मी, वडा नम्बर ७ का अध्यक्ष बनारसी बिनलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply