काठमाण्डौं,नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध १३ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई आदेश दिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई उत्प्रेषणको आदेश दिँदै खारेज गरेको छ ।
माओवादी सशस्त्र विद्रोहको समयमा काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा सजाय माग गर्दै अधिकारकर्मी कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।प्रहरीले अनुसन्धान गर्न लागेको मुद्दामा मन्त्रिपरिषद्ले तामेलीमा राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।















