रौतहट,निवर्तमान सांसद रहेका देवप्रसाद तिमल्सिना प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका साझा उम्मेदवार बनेका तिमल्सिना आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई ७ हजार ५ सय ५५ मतले पराजित गर्दै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मतगणनाको सुरुदेखि नै अग्रता लिएका तिमल्सिनाले ३४ हजार १ सय ५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका साझा उम्मेदवार उद्धव रेग्मीले २६ हजार ६ सय ५० मत ल्याउनुभएको छ ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका तिमल्सिनाले रौतहट –४ मा नयाँ इतिहास पनि रच्नुभएको छ । यस क्षेत्रमा २०४८ सालपछि दोहोरिएर निर्वाचित हुने उहाँ पहिलो सांसद बन्नुभएको छ ।

क्षेत्र न ४ मा २०४८ मा एमालेबाट बन्सिधर मिश्र, २०५१ काङ्ग्रेसबाट उद्धव ढकाल, २०५६ मा एमालेबाट माधवकुमार नेपाल,२०५६ सालको उपनिर्वाचनमा कांग्रेसका प्रकाश कोइराला निर्वाचित भएका थिए । यस्तै २०६४ को चुनाबमा माओबादीका देवेन्द्र पटेल, २०७० मा एमालेका रामकुमार भट्टराईले जित्नुभएको थियो ।

तिमल्सिना यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाटै निर्वाचित हुनुभएको थियो । त्यसबेला उहाँले नेकपा एमालेका मिश्रालाई ५ हजार २ सय २२ मतले पराजित गर्नुभएको थियो । मिश्राले २३ हजार ६ मत ल्याउँदा तिमल्सिना २८ हजार २ सय २८ मत ल्याएर निर्वाचित हुनुभएको थियो । दोस्रो पटक जितेका उहाँले सम्पूर्ण मतदातालाई धन्यवाद दिदै भन्नुभयो ‘यो जित गठबन्धनको जित नभएर, सबै विकासप्रेमी जनताको जित हो, यस क्षेत्रको समृद्धि, विकास र सुशासनका लागि सधै खटिरहने छु ।’

Leave a Reply