काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीका मागबारे छलफल गर्न सरकारले चार सदस्यीय वार्ता समिति गठन गरेको छ ।
शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन् ।
इलाममा २५औँ पटक आमरण अनशन बसेका डा। केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सरकारले वार्ता प्रक्रिया अघि बढाएको हो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । हाल उनी थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
यसपटक डा। केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित ६ बुँदे माग अघि सारेका छन् ।
उनले आवश्यक भौतिक पूर्वाधार र जनशक्ति अभाव रहेको अवस्थामा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्न माग गरेका छन् ।
त्यस्तै, चिकित्सा शिक्षा आयोग तथा विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।
सरकारले वार्ता समिति गठन गरेसँगै डा। केसीका माग सम्बोधनका विषयमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ ।
















