बसन्त लामा
सिगौंल,सिगौलका महिलाहरुले तिज पर्वमा पूजा र नाचगान गर्ने ठाउँ बनाउने भनेर ल्याएको गिटीबालुवा अस्थायी प्रहरी पोष्ट सिगौलका प्रहरीले नियन्त्रणमा लिएका छन ।
निजगढ नगरपालिका वडा नम्बर २ स्थित शिव मन्दिर नजिकै रहेको खाडल पुरेर तिजमा नृत्य गर्ने स्थान निर्माण गर्ने भनेर महिलाहरुको एउटा समूहले शनिवार दिउसो धन्सार खोलाबाट ल्याएको २ टेक्टर गिटी बालुवा प्रहरीले नियन्त्रणमा लिएको हो । खाडल पुर्न महिलाहरुले ल्याएको बालुवा प्रहरीले नियन्त्रणमा लिएर चौकीको प्राङ्गणमा झारेपछि तिज पर्व मनाउने महिलाहरुलाई समस्या हुने भएको छ । पुजा र नाचगान गर्ने स्थानमा खाल्डो बनेको र माटो पनि हिलो रहेकोले ब्रतालु महिलाले धन्सार खोलाबाट गिटी बालुवा ल्याएर पुर्न लागेका हुन ।
निषेधित अवधिमा अनुमति बेगर ल्याएको हुनाले गिटी बालुवा नियन्त्रणमा लिनुपरेको अस्थायी प्रहरी पोष्ट सिगौंलले जनाएको छ । प्रहरीले ईलाका प्रहरी कार्यालय निजगढबाट अनुमतिपत्र लिएर आएपछि मात्रै गिटी बालुवा ल्याउन दिने बताएको छ ।
निषेधित अवधिमा नियमविपरीत हुने उत्खनन रोक्ने कार्य राम्रो भए पनि सामाजिक र धामिर्कक कार्यको लागि गिटी बालुवा रोकेर प्रहरीले सर्वसाधारणलाई दुख दिने कार्य गरेको स्थानीय लक्ष्मण लामिछानेले बताउनुभएको छ ।
सरकारले वर्षायाम लागेपछि हरेक वर्ष असारदेखि भदौं ३ महिनासम्मको लागि देशभरिका नदी उत्खननमा रोक लगाउदै आएको छ ।
यसैबीच सिंगौलमा केहि वडा अध्यक्षको मिलिमतोमा गिट्टी बालुवा र ढुंगा तस्करी गर्दै आएका गाउँका ट्याक्टरधनीहरुको प्रभावमा परेर महिलाले तिज पर्व मनाउनको लागि ल्याएको गिटी बालुवा प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले आरोप लगाएका छन । उनीहरुले केही जनप्रतिनिधि र प्रहरीको मिलिमतोमा तस्करहरुले अहिले निषेधित अवधिमा पनि धन्सार खोलाबाट गिट्टी बालुवा र ढुंगाको उत्खनन गरेर तस्करी गरिरहेको आरोप पनि लगाएका छन ।