वीरगन्ज,वीरगन्जको पुरानो साहित्यिक संस्था ‘नारायणी वाङ्गमय प्रतिष्ठान’को नयाँकार्य समिति गठन गरिएको छ । साहित्य लेखनमा कलम चलाउँदै आएका व्यक्तिहरुको भेलाले प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सिद्धार्थ इन्टरनेशनल कलेजमा भएको प्रतिष्ठानको साधरणसभाले प्राध्यापक डाक्टर विश्वम्भरकुमार शर्मा अध्यक्ष रहने गरि नयाँ कार्यसमिति चयन गरेको हो । डाक्टर शर्मा पछिल्लो कार्यसमितिमा महासचिव हुनुहुन्थ्यो ।
कार्यसमितिको उपाध्यक्षमा पत्रकार एवं साहित्यकार चन्द्रकिशोर झा, सचिवमा महेशचन्द्र गौतम, कोषाध्यक्षमा कविता खड्का चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा गीता भण्डारी, सुरेश बिडारी, अजमत अली, सुर्यनारायण वि.क., देवी सापकोटा, नवराज रिजाल र सञ्जय साह मित्र चयन भएका छन् ।
नेपालको कला, भाषा, साहित्यको उन्नयनका लागि विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरिएको अध्यक्ष डाक्टर शर्माले बताउनुभयो । भेलाले नारायणी वाङ्गमय प्रतिष्ठानको विद्यान संशोधन गर्ने, संस्था नविकरण गर्ने लगायतका निर्णय समेत गरेको छ ।
प्रतिष्ठान वीरगन्जमा साहित्यिक गतिविधि गर्ने प्रतिष्ठित संस्थाको रुपमा परिचित छ । डाक्टर दुर्गाप्रसाद रिजाल अध्यक्ष रहेको प्रतिष्ठान वि.स. २०४५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो ।
पछिल्लो समय कार्यसमितिका पदाधिकारीमध्ये केहिको मृत्यु र अन्य सदस्यहरु पनि वीरगन्ज बाहिर रहेका कारण प्रतिष्ठान निष्क्रिय बनेको थियो ।

















