नरेश गुप्ता
बरियारपुर,स्थानीय तहको चुनाव समयमै गराउनु पर्ने माग राखेर सामवार अखिल नेपाल किसान महासंघ बाराले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघका जिल्ला ईन्चार्ज रामनाथ बैठाको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले प्रजिअ कटुवालाई ज्ञापनपत्र बुझाएको हो । स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि २०७९ जेष्ठ ७ गते समाप्त हुने तर सरकारले अहिलेसम्म पनि निर्वाचनको मिति घोषणा नगरकोले तत्काल मिति घोषणा गरिनु पर्ने माग राखेर ज्ञापन पत्र बुझाइएको हो । निर्वाचन मिति घोषणा गर्न आनाकानी गरेर सरकारले स्वच्छाचारी शासनको सुरुवात गर्न लागेको आशंका उब्जिएको पनि पत्रमा उल्लेख छ ।
त्यसैगरी किसानलाई धान रोपाइँको समयमा मात्र नभएर हिउदेबाली लगाउने समयमा पनि मलखादको व्यवस्था गरिनु पर्ने माग पनि किसान महासंघले गरेको छ । मुलुकमा बढ्दै गडदो भ्रष्टाचार, खुसघोरी, महङ्गी, कमिशनको अन्त्यको लागि पनि ज्ञापन पत्रमा माग गरिएको छ ।
ज्ञापन पत्रको बोधार्थ सम्माननीय प्रधानमन्त्रीको कार्यालयमा समेत पठाइएको छ । सो अवसरमा अखिल नेपाल किसान महासंघका केन्द्रीय सद्स्य उमेश गुप्ता, राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष पुरुषोतम साह लगायतको सहभागिता रहेको थियो ।